म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी विषयमा तालिम सम्पन्न भएको छ । असल छिमेकी नेपालको आयोजना र बेनी नगरपालिकाको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता वृद्धि गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।

मङ्गलवार र बुधवार दुई दिनसम्म चलेको तालिमको बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी र सिनियर अनमी लिलाकुमारी गौतमले सहजीकरण गर्नुभएको थियो । उहाँहरुले तालिमका सहभागी महिला स्वास्थ्य स्वयंसेविकालाई कोभिड–१९, प्राथमिक उपचार तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको काम, कर्तव्य र अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिममा सहभागी ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक उपचारका लागि ‘फस्ट एड बक्स’ वितरण गरिएको असल छिमेकी नेपालले जनाएको छ । उक्त फस्ट एड बक्ससहित कैंची, ग्लोब्स, माक्र्स, बेटारिन, थर्मामिटर, व्यान्डेज, कटनरोल, ह्यान्डीप्लास, स्यानीटाईजर, डिटोल, सिटामोल, जीवनजल, दुईदुई सेट टेपलगायत प्रतिव्यक्ति ३५ सय रुपैयाँको दरले प्राथमिक उपचारका सामग्रीहरु वितरण गरिएको छ ।

समुदायमा आवश्यक पर्दा प्रयोग गर्नेगरी प्राथमिक उपचारका सामग्रीहरु महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिइएको हो । सहभागीलाई प्राथमिक उपचारका सामग्री वितरण गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले नगरपालिकामार्फत आम नगरवासीको स्वास्थ्य अवस्थालाई हितमा राखेर प्राथमिकताका साथ स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै गत वर्षदेखि नै नगर क्षेत्रमा ‘घरघरमा स्वास्थ्यकर्मी’ पठाएर बिरामीहरुको पहिचान र उपचार गर्ने गरिएको बताउनुभयो । जुनसुकै ठाउँमा पनि भएको दुर्घटनामा सर्वप्रथम प्राथमिक उपचारको कार्यलाई जोड दिनुपर्ने नगर प्रमुख केसीको भनाइ छ ।

म्याग्दी क्रिस्चियन समुदायका उपाध्यक्ष सुर्यबहादुर तिलिजाले समापन गरेको कार्यक्रम असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र दासको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा असल छिमेकी नेपालबाट कृषि, स्वास्थ्यलगायत कार्यक्रमहरु सञ्चालन भैरहेका छन् ।

Leave a Reply