म्याग्दीको सदरमुकाम बेनीमा लघुउद्यमी र वित्तीय संस्थाबीच अन्तरक्रिया कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिकाको आयोजनामा

गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत आयोजित लघुउद्यमी र वित्तीय संस्थाबीच अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सिप सिकेर उद्यमी बन्नुपर्ने बताउनुभयो । उहाँले नयाँ लघुउद्यमीहरुको लागि बेनी नगरपालिकाको पहलमा वित्तीय संघसंस्थाबाट आवश्यक लगानीको व्यवस्थापन गरिने बताउँदै तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले लघुउद्यमीहरुको क्षमता अभिवृद्धि गर्न र व्यावसायिक सफलताको लागि नगरपालिकामार्फत आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो । कार्यक्रममा ग्लोबल आइएमई बैंक म्याग्दी शाखा बेनीका प्रवन्धक एवं बैंकर्स संघ म्याग्दीका उपाध्यक्ष सोकेन्द्र थापामगर र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले लघुउद्यमीलाई आवश्यक पर्ने व्यावसायिक कर्जा र लगानी, सुरक्षा तथा व्यवस्थापनलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।

बेनी नगरपालिका–८ नम्बर वडा बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले गतवर्ष व्युटिसियन र सिलाइकटाई सम्बन्धी विषयको तालिम सञ्चालन गरिएको बताउँदै यसवर्ष झोला बुनाई तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले तालिममा सहभागी महिलाहरुले झोला मात्र नभएर सिलाइकटाइसँगै अन्य सामानहरु पनि उत्पादन गर्नुपर्ने बताउँदै बजारीकरणमा वडा कार्यालय र नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

झोला बुनाई तालिममा बेनी नगरपालिका क्षेत्रका ३० जना महिलाहरुको सहभागिता रहेको थियो भने सिलाई व्यवसायी एवं प्रशिक्षकद्वय डम्बरबहादुर कार्की र सुनिता पुनले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी महिलाहरुले सामान बोक्ने झोला निर्माण गर्नुभएको थियो । बेनी नगरपालिकाका रोजगार संयोजक कुलचन्द्र रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply