म्याग्दी प्रहरीले होली पर्वमा जबरजस्ती रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुब्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने जनाएको छ । आइतबार होलीलाई लक्षित गरी सदरमुकाम बेनी सहित जिल्लाका सबै प्रहरी यूनिटमा होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरीतका कार्य भए वा गरिएमा कानुनी कारवाही गर्न अनुरोध गरेको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बेनीअनलाइनसँग कुराकानी गदैं सद्भावको पर्व होलीलाई शान्तिपूर्ण र उल्लासमय तरिकाले मनाउन अपिल गर्नुभएको छ ।उहाँले होलीका नाममा कसैमाथि पनि जबरजस्ती रङ दल्ने, लोला हान्ने वा अमानवीय गतिविधि भएको पाइएमा प्रहरीले कानुन अनुसार कारबाही गर्ने जनाउँदै सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाउन आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र सडक आसपासमा रहेका बिटमा समेत चेकजाँचमा कडाई गर्न र होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएमा तत्काल नियन्त्रणमा लिन समेत सर्कुलर गरेको छ । चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ ।

पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई ठाउँको ठाउँ कारबाहीका लागि मोवाइल गस्ती सहित पदैल सहित गस्तीमा समेत प्रहरीको संख्या थपेको जनाएको छ ।

बेनीबजार तथा जिल्लाभित्र रहेका सिसीक्यामेराबाट समेत निगरानी गरिने र कसैमाथि इच्छा विपरीत रङ दल्ने काम गरिए वा अमर्यादित कार्य गरिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन समेत प्रहरीले अनुरोध गरेको छ । प्रहरीले होलीको दिनमा नियमित बाहेक समेत आवश्यकता अनुसार विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर निगरानी बढाउने जनाएको छ ।

 

 

Leave a Reply