मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

सोमबार बिहान साढे ९ बजेतिर वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका पटेल लेक लागेर बिरामी परेका थिए। उपचारका लागि जिल्ला सदरमुकाम जोमसोम स्थित अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए।

४० जनाको समूहमा गएका पटेललाई बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा जोमसोम ल्याएकोमा १० बजे मृत्यु भएको पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार मन्दिर दर्शन गर्न गएका पटेल एकाएक बिरामी परेका थिए।

‘लेक लागेर बिरामी परेपछि उनलाई उपचारका लागि सदरमुकाम जोमसोम ल्याइएको हो। तर, अस्पताल ल्याउना साथ मृत्यु भयो,’ डिएसपी पाण्डेले भने। उनका अनुसार भारतीय तीर्थयात्रीको त्यो समूह हिजो बेलुकी मुस्ताङको मार्फामा बास बसेको थियो। सोमबार बिहानै मुक्तिनाथ दर्शन गर्न मन्दिर पुगेको बेला एकाएक पटेल बिरामी परेको उनले बताए।

‘मन्दिर परिसरमा एकाएक ढलेछन। त्यसपछि त्यही नै प्राथमिक उपचार गरिएको थियो। प्राथमिकपछि थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याएकोमा ज्यान गयो,’ उनले भने।

यो आर्थिक वर्षमा मात्र लेक लागेर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा अरु पाँचजना पर्यटकको पनि ज्यान गईसकेको छ। ती मध्ये ३ जना भारतीय, एकजना युक्रेन र एकजना जना नेपाली पर्यटकको ज्यान गएको छ।

‘कम उचाईमा बसेका पर्यटकलाई एकाएक उच्च हिमाली भेगमा पुग्दा लेक लाग्ने र सासै फेर्न सकस पर्छ। छोटो समयमा उच्च भेगमा पुग्दा लेक लाग्ने जोखिम हुन्छ,’ उनले भने, ‘मन्दिर दर्शन गर्न आएका धार्मिक तीर्थयात्री एकाएक उच्च भेगमा उक्लिँदा लेक लाग्ने जोखिम हुन्छ।’ पदयात्रामा गएका पर्यटक बिस्तारै हिड्ने र पर्याप्त समय लगाएर उच्च भेगसम्म उक्लिने हुँदा कम जोखिम हुने गरेको उनले बताए। ‘गाडीमा  गएका पर्यटक छोटो समयमा उच्च भेगमा पुग्दा लेक लाग्ने जोखिम छ,’ उनले भने।

उनका अनुसार मुक्तिनाथ मन्दिर परिसरमा हेल्थ डेस्क छ। त्यसपछि तीनकिलोमिटर तल झारकोट स्वास्थ्यचौकी, नौ किलोमिटरको दूरीमा कागबेनी स्वास्थ्यचौकी र १९ किलोमिटरको दूरीमा जिल्ला अस्पताल छ। मन्दिर परिसरको हेल्थडेस्कका बिरामीलाई आवश्यक परे अक्सिजन दिन पनि मिल्छ, बेडमै राखेर उपचार गर्न पनि मिल्छ।

Leave a Reply