अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन्। म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरी चौकीमा रहेको तथ्यांक गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार २८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका हुन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या तीन लाख ३५ हजार चार सय ६६ छ। तीमध्ये दुई लाख २० हजार सात सय २४ जना पुरुष छन् भने महिलाको सङ्ख्या एक लाख १४ हजार सात सय ४२ छ।

२०८० मा ७८ हजार आठ सय १४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन्।यीमध्ये ७२ हजार सात सय ५६ जना सार्क राष्ट्रभित्रका हुन् भने ६ हजार ५८ जना सार्कराष्ट्र बाहिरका रहेका प्रनाउ पाण्डेले जानकारी दिए। उनका अनुसार सार्क राष्ट्रबाट ३८ हजार ८२१ पुरुष र ३३ हजार ९३५ महिला छन् ।

सार्क राष्ट्र बाहिरबाट ३ हजार ६४८ पुरुष र २ हजार ४१० महिला मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्कबाट देखिएको छ।सोही अवधिमा हवाइमार्गबाट ११ हजार चार सय ८४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यीमध्येका एक हजार एक सय ३४ पुरुष ५४५ महिला गरी एक हजार ६७९ आन्तरिक पर्यटक रहेका प्रनाउ पाण्डेले जानकारी दिए।

सार्क राष्ट्रबाट तीन हजार ७६७ पुरुष र चार हजार २८८ महिला गरी ८ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन्। सार्क राष्ट्र बाहिरबाट आठ सय ८६ पुरुष र आठसय ६४ जना महिला गरी एक हजार सात सय ५० पर्यटक मुस्ताङ भित्रिएका तथ्याङ्कले देखाएको छ।

सडकको सहज पहुँचका साथै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि पछिल्ला वर्षमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताए। उनका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मुस्ताङ आकर्षक गन्तव्यस्थल बनेको छ ।

सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ । बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मले मुस्ताङ भ्रमण गर्न चाहने हुँदा मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो।

मुस्ताङ आफैंमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ। मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थल रहेका छन् । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटक धेरै पुग्ने गरेका छन्।

मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आइसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो।

यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (जहाँ तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैँचा रहेका छन्।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ। यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, १२ वटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानीसमेत पर्दछ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत बस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन्। त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ ‘माटोको सहर’को नामले पनि चिनिन्छ।

उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतकाबीचमा हुने व्यापारको राजस्व सङ्कलन गर्ने नेचुङ–लिची भन्सार कार्यालयसमेत छ। छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्र उपल्लो मुस्ताङमा रहेका छन्।

सन् २०२२ मा विदेशी पर्यटक ६५ हजार नौ सय ४० जनाले मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले जानकारी दिए। सन् २०२३ मा ७८ हजार ८१४ जना बाह्य पर्यटक भित्रिएका छन् ।

मुस्ताङमा खासगरी धार्मिक पर्यटक कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै एक सय आठ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन्।

साथै मार्फाको स्याउ बगैँचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाको अवलोकन तथा भ्रमणमा बर्सेनि पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशीभन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।

विश्वमै चर्चित स्थानमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकबाट अधिकांश पर्यटक विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाबाट पनि यहाँ घुम्न जाने पर्यटकको भीड लाग्ने गरेको छ । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको पर्यटन व्यवसायी बताउँछन् ।

मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु खासगरी म्याग्दीको बेनी हुँदै सवारी साधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटकहरु ट्रेकिङ  एजेन्सीमार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाईमार्गबाट पनि पुग्ने गर्दछन्।

Leave a Reply