म्याग्दीको मालिका गाउँपालिका–४, स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबी घर्तिले चौरासी पुजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । चौरासी पुजाको अवसरमा घर्तिको परिवारले सोही वडाको च्युरिबोट स्थित सिद्धार्थ माविलाई ६ लाख दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच सो रकम दलबहादुर दम्पति परिवारले विद्यालयका प्रअ ललितबहादुर घर्ती मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशमबहादुर पुन र निवर्तमान अध्यक्ष तमबहादुर पुनलाई सामुहिक रुपमा हस्तान्तरण गर्नुभयो ।

शिक्षक छकप्रसाद घर्तीका अनुसार, दलबहादुर दम्पतिले दुई लाख ,हाल अष्ट्रेलिया निवासी माइला छोराबुहारी राजेन्द्र घर्ती मगर पुन र सानु आले मगरले जेठा दाजु स्वर्गिय हिमप्रकाश घर्तीको स्मृतिमा एक लाख सहित दुई लाख, कान्छा छोराबुहारी धावेन्द्र र ज्ञानु घर्ती मगर पुनले एक लाख, छोरी ज्वाईहरु भिम घर्ती मगर र विष्णुदेवि घर्ती मगरले २५ हजार, तमबहादुर सिंथानी र याममाया घर्ती मगर पुनले २५ हजार, बालकुमारी पुन र हिराबहादुर पुनले २५ हजार, अमला पुन र राजन पुनले २५ हजार सहयोग गर्नुभएको छ । दलबहादुरकी माइली साली टकसरा पुनले दश हजार सहयोग गर्नुभएको छ । सो रकम अक्षयकोषमा जम्मा गरिने विद्यालयले जनाएको छ ।

समाजसेवी दलबहादुर घर्ती मगर पुनले यस अघि दुई दशक बढी सोही विद्यालय व्यवस्थापन समितिमा आवद्ध भएर काम गरिसक्नुभएको छ । बेलायती सेनाबाट अवकाश प्राप्त पुर्व गोर्खा सैनिक दलबहादुरकै पहलमा कादुरी र गोर्खा वेलफेयरले विद्यालयमा चर्पी निर्माण गर्नुका साथै च्युरीबोटमा खानेपानी आयोजना निर्माण गरिदिएका थिए । विद्यालयको शैक्षिक तथा भौतिक विकास ,गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पु¥याउने उद्धेश्यले चौरासी पुजाको अवसरमा सहयोग गरेको दलबहादुर घर्ती मगर पुनले बताउनुभयो ।

विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँबासी मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड लिदनुभयो । घर्ती मगर पुन दम्पतिले धार्मिक विधि अनुसार चौरासी पुजा गर्नुभएको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले स्थापित अक्षयकोषमा हालसम्म तीस लाख २४ हजार ६४३ रुपैयाँ रकम जुटेको प्रअ घर्ती मगरले बताउनुभयो ।

विव्यवस अध्यक्ष पुन,निवर्तमान अध्यक्ष पुन र शिव आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोकुल घर्तीले चौरासी पुजाको अवसरमा विद्यालयलाई सहयोग गरेर दलबहादुर र भानुदेबी दम्पति परिवारले शैक्षिक क्षेत्रको विकासमा उदाहरणीय र पुण्यको काम गरेको भन्दै धन्यवाद दिनुभयो । विद्यालयले सहयोगदाता दम्पति परिवारलाई सम्मान गरेको थियो । विद्यालयमा एक सय २६ जना विद्यार्थी अध्ययनरत छन् । यसैगरी दम्पतिले सोही वडाको ओखरबोट माविलाई पनि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

Leave a Reply