बेनी नगरपालिका भित्र सञ्चालित संस्थागत (निजी) विद्यालयले जेहेन्दार, विपन्न, अपाङ्ग भएका विद्यार्थीलाई अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने भएको छ । बेनी नगरकार्यपालिकाको बैशाख १८ गते बसेको कार्यपालिकाको बैठकले नयाँ शैक्षिक सत्रबाटै कार्यान्वयन हुने गरी संस्थागत विद्यालयका सञ्चालक र प्रिन्सिपलसँगको छलफलबाट कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिएको विवरण समेत नगरपालिकालाई उपलब्ध गराउनुपर्ने निर्णय भएको सामाजिक विकास समितिका संयोजक चक्र केसीले बताए ।

‘संस्थागत विद्यालयमा विपन्नले तोकिएको सुविधा पाउनुपर्ने बाध्यकारी नियम छ, कार्यान्वयनमा आलटाल गर्न पाइदैन’ बेनपा–९ का वडा अध्यक्ष समेत रहेका संयोजक केसीले भन्नुभयो । शिक्षा ऐन र नियमावलीले व्यवस्था गरेअनुरुपको छात्रवृत्ति वितरणका लागि संस्थागत विद्यालयलाई सिफारिस समेत गरिने छ ।

मेयर सुरत केसीको अध्यक्षतामा बसेको बैठकले संस्थागत विद्यालयले अभिभावकाबाट बर्षभरी लिने शुल्कको पूर्व स्वीकृति नगरपालिकालबाट लिनुपर्ने, चर्को शुल्क भएमा नगरपालिकाले हस्तक्षेप गर्ने, शिक्षकहरुलाई नियुक्ती पत्र दिनुपर्ने, सबै शिक्षकलाई प्रचलित कानुन अनुसार तलब दिनुपर्ने, स्वीकृति विनाको पाठ्यक्रमहरु पठनपाठन गर्न नपाइने निर्णय भएको छ । बेनी नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयको अनुगमनलाई समेत तिब्रता दिएको छ ।

Leave a Reply