धवलागिरि हिमालको चुचुराको उत्तरपट्टिको भागनजिक जोमसोम बजारपारि रहेको मेरो कार्यालयबाट कुनै युवाले लगाएको ढाका टोपीजस्तो आकारमा देखिने धवलागिरि हिमालको चुचुरो प्रत्येक दिन मैले हेरिरहँदा यसलाई अझ नजिकबाट हेर्न पाए कस्तो अनुभूति हुन्थ्यो होला? भन्ने कौतूहलले मन दिन दुगुना रात चौगुनाका हिसाबले भटभटिएको थियो।
वारि मानापाथि हिमाल अनि त्यससँगै जोडिएर रहेको धवलागिरि हिमाल र आइसफल तल लेतेबाट हेर्दा सानो भर्याङ हालेर चढ्यो भने पनि एकै छिनमा धवलागिरिको चुचुरोमा पुगिन्छ कि जस्तो अनुभूति हुने गर्छ।
प्रत्येक दिन बिहान उठ्नेबित्तिकै सेताम्मे हिउँले ढाकिएको हिमालको चुचुरो देख्दा त्यहाँको वास्तविकता नजिकबाट हेर्ने मनमा पलाएको लालसा विलुप्त होला कि भनेको झन् झन् बर्खामास उर्लिएको खहरे खोलाजस्तो गडगडाहटका साथ मनमा उकुसमुकुस भइरहेको थियो।
सन्दर्भ हेर्दा कहिलेकाहीं कस्तो अनुभूति हुन्छ भने मनमा कुनै कुरा उब्जने र त्यसको समाधान निमेषभरमा उत्तरित भएको हुन्छ। भगवान्ले कहिलेकाहीं ‘मनुष्य! तँ चिता, म पुर्याउँछु’ भन्नुहुन्छ भन्ने उक्ति पनि याद आयो कताकता।
यसैबिच यही तथ्य ठ्याक्कै मेल खानेगरी अन्नपूर्ण संरक्षण आयोजना मुस्ताङका प्रमुख मित्र प्रमोदजीसँग भेट्ने मौका मिल्यो। एकछिनको भलाकुसारीपछि कुरैकुरामा मैले प्रमोद रेग्मीजीसँग धवलागिरि आइसफलबारे जिज्ञासा राखेको थिएँ।
उहाँले ‘धवलागिरि हिमालसँग जोडिएको आइसफलसम्म तल कोवाङनजिक रहेको सेक्युङ ताल हुँदै माथि उकालो निस्कने साँघुरो पद मार्ग प्रयोग गरी अन्दाजी छ घण्टामा सहज तरिकाले पैदल यात्रा गर्दा त्यहाँसम्म पुग्न सकिन्छ, बरु यात्रा बिहान झिसमिसेमै सुरु गर्नुपर्छ किनभने बिहान ढल्दै जाँदा र घामको किरण रापिलो बन्दै जाँदा कहिलेकाहीं हिमाल सर्लक्कै बादलले ढाकिन सक्छ।
यदि त्यसो भयो भने हिमालको छेउमै पुगे पनि कुनै दृश्य देख्न सकिँदैन’ भन्ने जानकारी गराउँदै गर्दा मलाई झन् कताकता प्रमोदजीसँगको कुरै कुरामा आइसफलमा नै पुगेको अनुभूति हुँदै थप उत्साहित बनाएको थियो।
मुस्ताङ, म्याग्दीलगायतका जिल्ला समेटिएर यस क्षेत्रमा पर्ने उच्च हिमशृंखलाहरू जस्तैः धवलागिरि, मानापाथी, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका हिमालको सेरोफेरोसहित अन्नपूर्ण संरक्षण क्षेत्र पर्छ।
सो थलोको मुस्ताङतर्फको इलाकाको कार्यक्षेत्र उहाँको नै पर्ने अनि धवलागिरि आइसफलमा जाने चाहनासमेत रहेको भन्ने सुइँको मैले मुस्ताङ जिल्लाका राष्ट्रिय अनुसन्धान प्रमुख मदन पौडेलजीसँग पाएपछि एक दिन प्रस्ताव गर्नुपर्ला भन्ने सोच्दै थिएँ, तिहारको दिन एकाबिहानै उहाँको फोन आयो।
‘एकआपसमा सामान्य सन्चो–बिसन्चो र दैनिक प्रशासनिक कार्य प्रकृतिका कुरा गरेपछि उहाँले नै प्रस्ताव राख्नुभयो, ‘भोलि सार्वजनिक बिदा पनि छ। यसै मेसोमा धवलागिरि आइसफलको यात्रा गरौं, हुँदैन सर?’
मलाई ‘के खोज्छस् कानो आँखा’ भनेझैं भयो। तत्काल उत्तर दिएँ, ‘म त तयार नै छु, जाने भए जाऊँ, बरु को को जाने नि सर?’
फेरि प्रमोदजीले नै प्रस्ट्याउनुभयो, ‘सिडियो साबसँग पनि कुरा भएको छ। उहाँ, हजुर, मदन सर, म र मेरा दुई भाइहरू हुन्छौं। अन्य व्यवस्था म मिलाउँछु। पैदल यात्राका क्रममा हामी सबैलाई आवश्यक पर्ने लट्ठी सरले व्यवस्था मिलाउनुपर्यो। भोलि बिहान पाँच बजे जोमसोमबाट गाडीमा कोबाङ हुँदै सेक्युङ तालसम्म जानुपर्छ। त्यसपछि पैदल उकालो करिब ६ घण्टा हिँडेपछि आइसफल पुगिन्छ।’
दिउँसो अन्य केही साथीहरूसँग सो विषयमा परामर्श पनि गरें। सबैबाट आइसफलको यात्रा कठिन रहेको भए तापनि जीवनको एउटा अविस्मरणीय अध्याय हुने भन्ने जानकारी पाएको हुँदा यसले मेरो मनमा थप हौसला प्रदान गर्यो। मेरो तहबाट जे जति तयार गर्नुथियो, त्यो सबै मिलाई राति १० बजेतिर बिस्तारामा पसें।
सायद भोलिको यात्राका बारेमा अनेकथरी मन्थना मनमा आएका कारणले नै होला, धेरै पटक करवट बदल्नुपर्यो। बिस्तारामा सुत्दै गर्दा दुवै आँखा बन्द रहेको भए तापनि प्रत्येक आधाआधा घण्टामा कार्यालयको सुरक्षार्थ रहेको सेन्ट्रीले हान्ने घण्टी धेरै पटक कानमा गुन्जियो। बिहान ४ बजेका लागि फिक्स गरेको अलार्म मोबाइलमा बजेपछि मात्र झल्यास्स बिउँझिएँ। राति कति बेला निद्रा परेछ पत्तै भएन।
बिहान ६ नबज्दै हामी सेक्युङ तालको छेउमा पुग्दै गर्दा झिसमिस उज्यालो मात्र भएका कारण बाहिरको वातावरण अझै प्रस्ट देख्न सकिने भइसकेको थिएन। आइसफलको उकालो गोरेटो बाटोको बिम्ब मेरो आँखाको नजरमा आइसकेको थियो। ठाडै उकालो! त्यति ठाडो उकालो मैले अहिलेसम्म देखेको थिइनँ।
माथि हेरेको, घाँटी नै कताकता दुख्ला जस्तो अनुभूति भयो। तथापि जसरी पनि धवलागिरि आइसफलमा पुग्ने मनमा अटल आकाङ्क्षा भएका कारण त्यस विषयमा म खासै सोचमग्न भइनँ।
बाटोमा आवश्यक पर्ने सबै कुराको तयारी गरी पैदल उकालो यात्राका लागि तम्तयार रहेको सूचना यात्रामा सहभागी सबैबाट एकएक गरी सुन्दै गर्दा अचानक सिडियो साबको स्वास्थ्यमा सामान्य गडबढी भएको भन्ने जानकारी भएपश्चात् सिडियो साब आइसफलको यात्रा सुरुवात नै नहुँदै त्याग गरी जोमसोम फिर्ता हुनुभयो। हामी सबैले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्यौं। यसले हामीलाई केही हदसम्म खिन्न पनि बनायो।
भ्रमण टोलीका प्रमुख सदस्यको यात्रा नहुने भएपछि अब के गर्ने भन्नेमा हामीमा केही द्विविधा उत्पन्न भयो। यसैबिच माथि कताकता जोडतोडले भालु कराएको आवाज हामी सबैको कानमा गुन्जियो। भ्रमण दलमा रहेका हामीमा झन् संशय पैदा भयो।
केही साथीहरू यात्रा टुङ्ग्याउने पो हो कि भन्ने विमर्शमा लाग्नुभयो। तर पछि हामी सबैमा यात्रा सुरु गरेपछि गन्तव्यमा जसरी पनि पुग्नुपर्छ भन्ने दृढता जागरुक भयो। त्यसपछि प्रमोदजी, मदनजी र मलगायत ६ जना बिहान ठ्याक्कै ६ बजे उकालो यात्राका सारथी बन्याै।
सेक्युङमाथि सालघारीसहितको घना जंगल, त्यही जंगल हुँदै सालघारीबिचबाट बनाइएको पैदल मार्गको दुई किमि जति अन्नपूर्ण संरक्षण क्षेत्रले ढुंगाको सिँढी बनाएको रहेछ। यसले हाम्रो यात्रालाई पनि सहज बनायो। तर ठाडै उकालो भएका कारण लगातार हिँडिरहन सम्भव पनि थिएन।
हामी छिनछिनमा सुस्ताउँदै, थकाइ मार्दै उकालो यात्रामा तल्लीन रह्यौं। सुरुमा हामी सबैले यात्रा सँगै सुरु गरेको भए तापनि सायद उकालोका कारणले नै होला, हामी यात्रामा रहेका सदस्यबिच दुरी बढ्न थाल्यो। सिँढीको मार्ग समाप्त भएपछि भने यात्रा कष्टकर बन्दै गयो। बाटो अत्यन्त साँघुरो।
कतिपय ठाउँमा पाइला अगाडि बढाउन छेउमा रहेका बुट्यानको सहारा लिनुपर्ने। बुट्यान नभएको स्थानमा जनावरले जस्तो दुवै हातलाई पनि खुट्टाको रूपमा प्रयोग गर्नुपर्ने। साँच्चै भन्ने हो भने कतिपय स्थानमा बाटोको नामोनिसान थिएन। तथापि संरक्षण क्षेत्रले बाटो पहिल्याउन सहज होस् भन्ने हेतुले फलामको डन्डामा रङ पोतेर साइन पोस्टिङ राखेको रहेछ।
भ्रमण टोलीअगाडि म थिएँ। मदनजीले पछ्याइरहनुभएको थियो। यसैबिच प्रमोदजी तलबाट कराउनुभयो। ‘सर ४६ वटा फलामका डन्डी बाटोको संकेतका लागि ठाउँठाउँमा गाडेको छ। त्यसलाई नछोडी हिँड्नुहोला।’ साँच्चै बाटोमा कालो र पहेंलो रङ पोतेर निश्चित मिटरको दुरीमा अग्ला फलामे डन्डीहरू गाडेको देखियो तर डन्डी गन्न भने हामीले बिर्सियौं।
‘अलिमाथि चौंरी गोठ छ। त्यहाँ एकछिन सबैले विश्राम गर्नुपर्छ है। सायद गोठमा चौंरीको बथान पनि हुनुपर्छ, चौंरी पनि हेर्नुपर्छ,’ प्रमोदजीको आवाजमा थकानको भाव मैले प्रस्टै अनुभूति गरें।
उक्त पदमार्ग हिमालको नजिक भए तापनि हावा भने नचल्दो रहेछ। जोमसोममा यतिबेला थामिनसक्नु हावा चलिसक्थ्यो। सायद हामी यात्रामा छौं भन्ने जानकारी आकाश र बादललाई पनि थियो होला कि? आकाश पूरै निलो, सफा।
परपर क्षितिजसम्म बादलको एउटा टुक्रा पनि आकाशमा कहींकतै देखिँदैनथ्यो। यसले हाम्रो उकालो यात्रालाई थप ऊर्जावान् बनाएको थियो। दुई घण्टा जति यात्रा पूरा गर्दा बाटोमा चौंरीगोठ भेटियो। गोठमा चौंरी भने थिएनन्। पारी कताकता भिरपाखामा बिनागोठाला लस्करै चौंरी चरेको देखिन्थ्यो। नजिकबाट चौंरी हेर्ने हाम्रो चाहना भने अधुरै रह्यो।
केहीबेर सो स्थानमा सुस्ताउँदै हामी सबैको मोबाइलमा आकर्षक तस्बिरहरूसहित विभिन्न पोजमा कैद भएपछि उकालो यात्रालाई हामीले जारी राख्यौं। लक्ष्य हामीभन्दा धेरैमाथि थियो। करिब अर्को दुई घण्टा हिँडेपछि केही समथर भागमा हामी सबै सुस्ताउँदै गर्दा एक हुल डाँफेको बथान हाम्रो टाउकोमाथिबाट भुरुरु उडे।
हामी अवाक् भयौं। यति नजिकबाट हाम्रो राष्ट्रिय पक्षी डाँफेलाई हेर्ने मौका हामी कसैले पनि प्राप्त गरेका सायदै थिएनौं। केही साथीहरूले त त्यो सुन्दर दृश्यलाई मोबाइलको क्यामेरामा कैद गर्न पनि भ्याउनुभयो।
तत्कालै मदनजी बोल्नुभयो, ‘ बुझ्नु भो सर? संयोगले मात्र यस्तो सौभाग्य प्राप्त हुन्छ।’ हामी सबै उहाँको कुरामा सहमत भयौं। यस्तो अलौकिक दृश्य आत्मसाथ गर्न पाउँदा हामीले आफूलाई भाग्यमानी ठान्यौं। लक्ष्यमा नपुग्दै हाम्रो यात्रा पूर्ण रूपमा सफल भएको निष्कर्ष निकाल्यौं।
बाटोमा गाडिएका फलामका केही डन्डीमा उचाइसमेत लेखिएको रहेछ। हामीले ३६०० मिटर लेखेको डन्डी पार गरेपछि करिब ३०० मिटरमाथि उकालो चढ्दै गर्दा भेडा, च्याङ्ग्रा र चौंरी राख्ने अर्को गोठ फेला पर्यो।
त्यहाँ पनि कुनै वस्तुभाउ थिएनन्। त्यहाँबाट पारि हेर्दा धवलागिरि र आइसफलको दृश्य अद्भुत देखिन्थ्यो। धवलागिरि आइसफलको यात्रामा आउने मानिसहरू यहाँभन्दा माथि जाने आँट गर्दा रहेनछन् र प्रायःजसो यहींबाट नै आइसफलको यात्रा टुंग्याएर फर्कंदा रहेछन्।
तर हामी अझै माथि आइसफलसम्म नै पुग्ने निधो गर्यौं। अगाडि एउटा उल्झन आइलाग्यो, बाटो थिएन। गोरेटो बाटो समाप्त भइसकेको थियो। साइन पोस्टिङ पनि गोरेटो बाटोसमेत नभएका कारण गाडेको रहेनछ। भिरैभिर हात र खुट्टाले टेक्दै अगाडि बढ्यौं। केही माथि उकालो हिँडेपछि प्रमोदजी र उहाँसँगै आएका दुई भाइहरूले अगाडिको यात्रा त्याग्नुभयो। म, मदनजी र निर्मल भाइ आनन्दित हँुदै उकालो चढ्दै गयौं।
बिहान सेक्युङबाट हिँडेको पाँच घण्टा भइसकेको थियो। हामीले बन्दोबस्त गरी ल्याएको खानेकुरा र पानीसमेत सकिन लागेको थियो। करिब एक घण्टा उकालो हिँडेपछि एकछिन सुस्ताउँदै माथि हेर्दा हिमाल मुनि ओढारबाट एक हुल नाउर हामीलाई देखेर अझै फाल हाल्दै दौडेको सुन्दर दृश्यका साक्षी केवल हामी तीन जना मात्र बन्यौं। मैले उक्त सुन्दर दृश्य मोबाइलमा कैद गर्न पनि भ्याएँ, जुन मेरो यात्राको अलौकिक आनन्दको अर्को पाटो बन्यो।
अलिअलि हिउँले छोपिएको चट्टानले बनेको भिरैभिर माथि उक्लिँदै गर्दा धवलागिरिको चुचुरो टाउकोमा टोपी लगाएजस्तो देखिन थाल्यो। एक मन त्यहाँको दृश्य देख्दा हामीमा डर पनि पैदा भयो। चुचुरोमा भएको हिउँको ढिस्को खस्यो भने मृत्युलाई अँगाल्नुबाहेक हामीसँग कुनै विकल्प थिएन।
आइसफल हामीभन्दा त्यस्तै २०० मिटर जति मात्र टाढा थियो। अब भने हाम्रा लागि यात्रा त्याग्नुपर्ने स्थिति बन्यो किनभने माथि हिउँसहितको पहाड थियो। त्यहाँसम्म पुग्ने बाटो कतैबाट पनि थिएन। हामीले नजिकै मनग्गे हिउँको थुप्रो फेला पार्यौं। एकछिन मस्त हिउँमा खेल्यौं। धवलागिरि र आइसफलको यति नजिकबाट दृश्यावलोकन गर्ने सौभाग्य सायद कमैले मात्र प्राप्त गरेका होलान् भन्ने हामीमा अनुभूति भयो।
त्यहाँको दृश्य मोबाइलमा खिच्दै गर्दा मोबाइलको ब्याट्री सकिएर स्विच अफ हुने अवस्थामा पुग्यो। तस्बिर खिच्ने चाहना मेटिएन। दिउँसोको दुई बज्नै लागेको थियो। ‘सर, अब चाहिँ फर्कौं होला। घाम छँदै तल झर्नुपर्छ, नत्र कठिन हुन्छ,’ फेरि मदनजी नै बोल्नुभयो।
उकालो चढ्न सजिलो तर झर्न कठिन किनभने बाटो थिएन। धवलागिरि हिमाल र आइसफललाई बाई बाई गर्दै हामी ओरालो झर्न सुरु गर्यौं तर अडिनै गाह्रो। हामी हिँड्नुको साटो हातमा बोकेको लट्ठीलाई सहारा बनाउँदै दौडिन थाल्यौं। करिब आधा घण्टा ओरालो दौडिएपछि प्रमोदजीलगायतको टिमसँग साक्षात्कार भयो।
हामीले यात्राका क्रममा सिकेको एउटा पक्ष के थियो भने ओरालोमा दौडिन नहुने रहेछ। ओरालोमा दौडिएका कारण मदनजी र मेरो घुँडा सहनै नसकिने गरी दुख्न थाल्यो। त्यसका बाबजुद हामी करिब तीन घण्टाको ओरालो यात्रापछि उकालो निस्कँदा फेला परेको चौंरी गोठमा पुग्यौं। बेलुकी पाँच बज्दा पनि चौंरी गोठमा फर्किएका थिएनन्।
हामीले चौंरीका हुल नजिकबाट हेर्ने चाहनालाई भने पूरा गर्न सकेनौं। करिब थप एक घण्टा ओरालो झरेपछि हामी सेक्युङ तालको छेउमा पुग्यौं। प्यासले हामी बोल्न पनि नसक्ने भएका थियौं। साथमा बोकेको पानीलगायतका खानेकुरा उकालो यात्रामै सकिएका थिए। तालमा आउने पानीको मुहानमा मुख गाढेर पेटभरि पानी पियौं।
तल कोबाङमा खानाको व्यवस्था प्रमोदजीले अघि फोनमार्फत मिलाइसक्नुभएको रहेछ। भोक र थकानले हामी फतक्कै गलेका थियौं। भोकका कारण त्यति धेरै खाना मैले एकैपटकमा कहिल्यै खाएको थिइनँ।
साँच्चै भोक मिठो हो कि भोजन ? मैले पत्तो पाइनँ। अरू साथीहरूको पनि त्यही हालत थियो। खाना बनाउनेलाई खाना थप्न भ्याइनभ्याई थियो। उनीहरू खासखुस गर्दै थिए, ‘दश जनालाई बनाएको खाना ६ जनाले सिध्याउनुभयो।’
खाना खाँदै गर्दा मेरो खुट्टाको दुखाइ झन्झन् बढ्दै थियो। दुखाइका कारण अनुहारमा चिटचिट पसिना निस्केको थियो तर कसैलाई अभिव्यक्त गरिनँ। प्रमोदजी भन्दै हुनुहुन्थ्यो, ‘पाण्डे सर, तोरीको तेलले घुँडा मालिस गरेर सुत्नुहोला, ठिक हुन्छ।’
सायद उहाँले मैले अनुहारमा लुकाएको दुखाइको पीडा पढ्ने मौका पाउनुभएछ कि। मैले ‘हस्’ भन्दै सहमतिमा मुन्टो हल्लाएँ किनभने थकान र दुखाइले ममा बोल्ने जाँगर पनि हराएको थियो। खानापश्चात् असीम आनन्दसहित हामी भोलि बिहान जोमसोममा भेट्ने बाचाका साथ आआफ्नो गन्तव्यतर्फ लाग्यौं। nagariknews.com