युवा रेडक्रस सर्कल जनकल्याण माध्यमिक विद्यालय पुलाचौरको आयोजनामा जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी विभिन्न ११ वटा विद्यालयहरुमध्ये आयोजक विद्यालय जनकल्याण मावि नै प्रथम हुन सफल भएको हो ।

प्रतियोगिताबाट प्रकाश मावि बेनी द्वितीय, बेनी सामुदायिक मावि तृतीय र रघुगंगा मावि राखुपिप्ले सान्त्वना भएका छन् । विजयी विद्यालयहरुलाई क्रमशः नगद १० हजार, सातहजार पाँचसय, पाँचहजार र दुईहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजकले जनाएको छ । हाजिरीजवाफ प्रतियोगिताको बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटनपछि सम्बोधन गर्दै वडाध्यक्ष बानियाँले शैक्षिक गतिविधिहरुसँगै अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीहरुको अन्तर्निहित क्षमता पहिचानमा सहयोग पुगेको बताउनुभयो ।

उहाँले विद्यालयमा अध्ययन तथा अध्यापन सँगसँगै आउँदा दिनहरुमा पनि अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिन आग्रह गर्दै विद्यालयको शैक्षिकस्तर सुधार गर्नको लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।

जनकल्याण मावि अक्षयकोषका संस्थापक अध्यक्ष रामप्रसाद सुवेदीले विद्यालयमा पढाइको साथमा अन्य कार्यक्रमहरु पनि गर्नुपर्ने बताउँदै हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीको बौद्धिक विकासमा सहयोग पु¥याउने बताउनुभयो । जनकल्याण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले अतिरिक्त क्रियाकलापले विद्यार्थी र विद्यालयको क्षमता पहिचान हुनुका साथै विद्यालयको प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा जनकल्याण माविको विव्यस सदस्य एवं वडा सदस्य देवीदत्त पौडेल, प्रकाश माविका शिक्षक बिलप्रसाद श्रेष्ठ, बेनी सामुदायिक माविका शिक्षक मदन सुवेदी र रघुगंगा माविका शिक्षक काशिराम पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम विव्यस अध्यक्ष गोपाल बानियाँको अध्यक्षता, शिक्षक शिव बानियाँको सञ्चालन र शिक्षक तथा अतिरिक्त क्रियाकलाप संयोजक गीता सुवेदी आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply