म्याग्दीको बेनी नगरपालिकाका क्षेत्र भित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गर्ने प्रस्तावमा नगरभित्रका होटल तथा रेष्टुरेन्ट ब्यवसायीले एक्यबद्धता जनाएपछि नगरपालिकाले नितिगत निर्णय गर्ने भएको छ ।

नगर प्रमुख सुरत केसीको अध्यक्षतामा पछिल्लो समय कुलतजन्य गतिविधिलाई नियन्त्रणका लागि भइरहेको सक्रियतामा ब्यवसायीले समेत सघाउने प्रतिबद्धताले कार्यान्वयनमा समेत सहज हुने भएपछि कार्यपालिका बैठकबाट नै निर्णय गरी अगाडी बढ्ने नगरपालिकाले जनाएको छ ।

हुक्काले युवापुस्तालाई कुलतमा फस्ने बाटो बनाइरहेको अवस्थामा नगरपालिकाले हुक्काको प्रयोगलाई नै रोक लगाउन पहिलो चरणमा बजार क्षेत्रमा जनप्रतिनिधि, सरोकारवाला निकाय र ब्यवसायीसँग छलफल गरेको छ ।

नगर प्रमुख केसीले क्षणिक रमाइलोका लागि हुक्का सेवन गर्ने गरिएकाले यसको असरका बारेमा समेत सेवनकर्ता बेखवर रहेकाले बिक्री वितरण र सेवनमै रोक लगाउने बताए ।

नगरपालिकाले नितिगत निर्णयको क्रममा बिक्री वितरण, प्रयोगकर्तालाई समेत जरिवाना सहितका प्रावधानहरु समेत राख्ने जनाएको छ । यूवापुस्ता माझ हुक्का फेसन जस्तै बनेको छ। क्षति र हानीका बारेमा कल्पनासमेत गरेको पाइदैन ।

सदरमुकाम बेनी सहित जिल्लाका ग्रामिण क्षेत्रका होटल, रेष्टुरेन्ट र ब्यक्तिगत घरमा समेत हुक्काको पोड भेटिन्छ। बेनीका हुक्का बढी बेच्ने होटल तथा रेष्टुरेष्ट र हुक्काको पोड बेच्ने पसलहरूका अनुसार पछिल्लो बर्ष हुक्का सेवनकर्तामा किशोरीको समेत आर्कषक ह्वात्तै बढेको छ ।

किशोरकिशोरी सँगै बसेर हुक्का सेवन गर्ने फेसनजस्तै भएको छ । चुरोट, बियर तथा वाइन पिएको फोटो देखाउन लाज मान्नेहरू हुक्का पिएको फोटो भने सजिलै सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन्। जसले गर्दा किशोर–किशोरीहरू पनि त्यसबाट प्रभावित भएको र हुक्काको कुलतमा लागेको देखिएको छ ।

चुरोटभन्दा हुक्का सेवन कम हानिकारक छ भन्ने कुरा गलत भएको बेनी अस्पतालका मेडिकल अधिकृत गोविन्द पोख्रेलले बताए । ‘हुक्कालाई सामान्य रुपमा लिइएको छ, कलिला बालबालिकाले समेत अभिभावकको अनुरोधमा सेवन गरेको देखिन्छ, यो भयानक असरको संकेत हो’ डा. पोख्रेलले भने ।

एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तान्ने गरिन्छ भने एक सर्को हुक्काको प्रयोग गर्दा खेरि २ सय लिटरसम्म धुवाँ शरीरभित्र पु¥याउने गरिन्छ । त्यसको असर एकदुई सय खिल्ली चुरोट ताने बराबरको हुने डा. पोख्रेलले बताए। डा. पोख्रेलका अनुसार हुक्कामा राखिएको फ्लेबर सूर्तीको चारकोलको धुँवाबाट कार्बनमोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रोकार्बोन निस्कन्छ। यो मानव स्वास्थ्यको लागि विष सेवन गरेजस्तै हुन्छ ।

डा. पोख्रेललका अनुसार आजभोलि कतिपयले हुक्का तान्ने निहुँमा लागूऔषध सेवन समेत गर्ने गरेको बताउँछन्। ‘हुक्काले विस्तारै मान्छेलाई लागूऔषध सेवन गर्ने तिर उकास्न थाल्छ अनि युवा युवतीहरू लागूऔषध सेवनमा सक्रिय हुन्छ,’ डा. पोख्रेलले भने ।

एक खिल्ली चुरोट पिउन ५ देखि १० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घण्टा भन्दा बढी समय लाग्छ। यसै कारणले पनि रोगले सजिलै आक्रमण गर्ने डा. पोख्रेललको भनाई छ । त्यसैगरी हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत लाग्ने खतरा बढी भएको उनी बताउँछन्।

 

Leave a Reply