म्याग्दीको सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडमीको भित्तामा परिकारको सूची लामै छ । स्टलमा राखिएको खानाका परिकारको स्वाद लिनेको घुइँचो छ। विद्यार्थीलाई व्यवहारिक सीप सिकाउन विद्यालयले शुक्रबार आयोजना गरेको दोस्रो लिटल फुड फेस्टिबलमा विद्यार्र्थीले एकै ठाउँमा राखेको ९ स्टलमा विभिन्न थरीका परिकारका स्वाद लिन पाउँदा छुट्टै खालको रमाइलो देखिन्थ्यो ।

मन्टेश्वरीको प्राङ्गनमा आयोजित फेस्टिबलमा परिकारको स्वाद लिने, बनाउने र बिक्री गर्ने मात्रै नभई हेर्न जानेको समेत भिड थियो ।विद्यार्थीलाई खानाका परिकार बनाउने, खाना बनाउँदा ध्यान दिनुपर्ने टिप्स समेत दिइएको थियो ।

फेस्टिबलमा कक्षा ४ का विद्यार्थीले बिर्यानी बनाएका थिए भने स्टलमा सेलरोटी, अर्गानिक खाना, मम, ससेज, चिया, खिर लड्ड लगायतका परिकारहरु राखिएको थियो । कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता र क्रियाशिलतामा प्रयोगात्मक तथा सिर्जनात्मक खाना महोत्सव सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताए ।

‘ब्यवहारिक ज्ञान सिकाउने कार्यतालिका नै बनाएका छौ,विद्यार्थीले अभिभावकलाई घरायसी काममा समेत सघाउन फेस्टिबलले सघाएको छ’प्रिन्सिपल सुबेदीले भने ।

अतिरिक्त क्रियाकलापले समेत विद्यार्थीको क्षमता बढाउने उनले बताए ।फेस्टिबलमा खाना पकाउने देखि भाडा माझ्ने काम समेत विद्यार्थीले गरेका थिए । फेस्टिबलमा आफ्नै सन्तानले पकाएको खानाका परिकार खाने अवसर मिलेको अभिभावक चिना रोकाले बताइन् ।

‘कितावी ज्ञान बाहेक ब्यवहारिक ज्ञान पनि आवश्यक छ, फुर्सदमा अभिभावकलाई सघाउँदा गलत बाटोमा लाग्नबाट पनि जोगिन्छ’ अभिभावक रोकाले भनिन् । आफ्नो छोराछोरी भएको स्टलमा पुगेर अभिभावकले समेत अवलोकन गरेका थिए ।

विद्यालयका अभिभावका संघका अध्यक्ष टेकप्रसाद सापकोटाले विद्यालयले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले दिएको समय र प्राथमिकताको नतिजा परीक्षाको नतिजामा समेत देखिने गरेको बताए। उनले फुड फेस्टिबलमा विद्यार्थीले पकाउने र अभिभावकले खाने अवसर मिलेको बताए ।

विद्यालयले करिब ७ हजार खर्च गरेकोमा खानाका परिकार बिक्री गरी विद्यार्थीले सतप्रतिशत नाफा समेत आर्जन गरेका छन्। खाना जस्तो अत्यावश्यक र महत्वपूर्ण विषयमा विद्यालयले विद्यार्थीलाई सिकाएकोमा अभिभावकले समेत धन्यवाद दिएका थिए ।

Leave a Reply