म्याग्दीको बेनी नगरपालिका-२,आम्बोटका आमा समूह आलु खेतीको विस्तार र प्रवद्धनमा जुटेका छन् । स्थानीय आम्बोट आमा समुहले ३० रोपनीमा सामुहिक आलु खेती गरेका छन् ।

विगतमा घरायसी प्रयोजनका लागि आलु खेती गरिने आम्बोटमा कृषि ज्ञान केन्द्र म्याग्दीको समुदायस्तरमा कृषि उत्पादन प्रर्वधन आयोजना अन्तरगत ३ लाख अनुदानबाट २ वटा हाते ट्याक्टर, औजार, स्प्रे मेसिन, सिचाई पाइप लगायतका औजार अनुदानमा र स्थानीय आमा समुहले समेत १ लाख ८१ हजार लागतमा बीउ खदिर गरी आलु खेती विस्तार गरिएको छ।

अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित आम्बोट आमा समुहमा आवद्ध ३० महिलाले २५ सय ५० किलो खायन प्रजातिको आलु खेती गरेको समुहकी अध्यक्ष लक्ष्मी घिमिरेले बताउनुभयो ।

‘सिंगो गाउँ आलु खेतीमा आर्कषित भएको छ,अनुदान र प्राविधिक सहयोगले आलु खेती विस्तारमा निकै सहज भएको छ’ अध्यक्ष घिमिरेले भन्नुभयो ।समूहमा काम गर्दा एक आपसमा ज्ञान तथा सीप आदानप्रदान समेत भएको भन्दै यसपटक लगाइएको आलु राम्रो उत्पादन भएको अध्यक्ष घिमिरेको भनाई छ ।

अनुदान रसमुहको सामुहिक लगानीमा विस्तार गरिएको आलुको उत्पादनसँगै आगामी बर्ष थप योजना बनाउने समुहकी सचिव सुनिता घिमिरेले बताउनुभयो । आमा समुहमार्फत खेती प्रर्वधनका लागि आवश्यक पर्ने तालिम सहित प्राविधिक ज्ञान, नियमित अनुगमनले समेत आलु खेतीका लागि सहज भएको छ ।

आमा समुहले लगाएको आलु खेतीको अवस्थाका बारेमा ज्ञान केन्द्रका प्रतिनिधि सहित वडा अध्यक्ष यामबहादुर कार्कीको उपस्थितीमा समेत सार्वजनिक सुनुवाईमा प्रगति प्रस्तुत गरिएको थियो ।

आलु खेतीको सम्भावना भएको क्षेत्र भएकाले बेनपा–२ का आम्बोट लगायतका विभिन्न बस्तीमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउने वडा अध्यक्ष कार्कीले बताउनुभयो । ‘घरायसी प्रयोजनका लागि मात्रै खेती गर्ने गरिएको थियो, अहिले गाउँमा व्यावसायिक आलु खेतीमा समेत आर्कषण बढेको छ’ अध्यक्ष कार्कीले भन्नुभयो।

चालु आर्थिक वर्ष २०८०÷८१ मा कृषि ज्ञान केन्द्रले आलु खेतीका लागि जिल्लाभर ३ करोडको कार्यक्रममार्फत छनोट भएका कृषक समूह र सहकारीलाई प्रतिरोपनी १२ हजारका दरले बीउ खरिदलगायत उपकरण किन्नका लागि अनुदान उपलब्ध गराइरहेको कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामसरण कुर्मीले बताउनुभयो ।

कम्तीमा १० घरधुरी समेटिएकोे ३० रोपनीभन्दा बढीमा आलु खेती गर्ने १८ वटा समूह तथा सहकारी अनुदानका लागि छनोट गरी कूल लागतको ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको छ । जिल्लामा स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुन्छ ।

 

Leave a Reply