म्याग्दीको मंगला गाउँपालिका-२, हिदीका कृषक सकबहादुर जुग्जालीले यसबर्ष साढे २ लाखको सुन्तला फलाए ।हिदीँमा सुन्तला खेती विस्तार गर्ने अगुवा कृषक जुग्जालीले १८ रोपनीमा सुन्तला खेती विस्तार गरेका सकबहादुरले भण्डारण गरेको सुन्तला अहिले गाउँबाटै प्रतिकेजी १ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

समुन्द्री सतहदेखि करिब १८ सय मिटरको उचाईमा सुन्तला फल्न थालेपछि अहिले हिदीका कृषक ब्यवसायीक सुन्तला खेतीतर्फ आर्कषित भएका छन् । हिदीँका दुर्गा पुन, दिजान शर्मा, दलबहादुर पुन, गौरीशावर पौडेल पतम बहादुर पुन, पोक बहादुर दर्जी लगायतले यसबर्ष आफ्नो बगैंचामा फलाएको सुन्तला बजारमा पुर्याएका छन् । ‘चिसो हावापानी भएकाले केहीले टिप्दै हुनुहुन्छ, केहीले भण्डारण गर्नुभएको छ’ स्थानीय कृषक दिराज शर्माले भने ।

उनका अनुसार ब्यापारी कृषकको मुल्यमा गाउँमै आएर सुन्तला खरिद गर्ने गरेका छन् । ‘हिदीलाई सुन्तलाको पकेट क्षेत्र बनाउने अभियानमा छौ, अबका केही बर्षमा यहाँबाट लाखौंको सुन्तला बजारमा पठाउन सकिन्छ’ अगुवा कृषक सकबहादुरले भने ।

सुन्तलाका लागि अनुकुल हावापानी भएको हिँदी क्षेत्रमा सिजन बाहेक पनि फागुन महिनासम्म सुन्तलालाई झण्डारण गरी बजारसम्म पठाउन सकिन्छ । हिँदीसम्म सडक सञ्जाल जोडिएकाले सुन्तलाको बजारीकरणमा समेत कुनै समस्या छैन् । अहिले करिब २० घरघुरीले सुन्तला खेती गरेका छन् ।

रसिलो र स्वादिलो सुन्तला कै कारण लोकप्रिय बन्दै गएको हिँदीका किसानलाई सुन्तला उत्पादनमा प्रोत्साहन गरिने मंगला गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कृषिजन्य बस्तुको उत्पादनमा सक्रिय कृषकलाई अनुदान, औजार तथा अन्य प्राविधिक सहयोगमा उच्च प्राथमिकता दिएको बताए । नयाँ बोट विस्तार, बगैंचा सुधारमा समेत कृषकलाई प्राविधिक तालिममा समेत सघाउने छ । हिँदी आलु र मुला उत्पादनमा जिल्लामै प्रख्यात छ ।

Leave a Reply