म्याग्दीलाई जापानमा चिनाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियो स्थित ईताबासी कुको खामिईताबासीमा आगामी अप्रिल २७ र २८ तारिखमा म्याग्दी (मोना) फेस्टिबल हुने भएको छ ।

नेपाली कला, सँस्कृति एवं पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं गन्तब्यहरुको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने र जन्मभूमी म्याग्दी सहित सम्रग नेपालको पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले आयोजित मोना फेस्टिवलको आर्थिक सहयोग तथा प्रचारप्रसार सहित अन्य आवश्यक तयारी तिब्र पारिएको मोना जापानका अध्यक्ष विशाल केसीले बताए ।

‘म्याग्दीलाई जापानमा चिनाउने सुन्दर अवसर हो, हामी सबै मिलेर फेस्टिबललाई सफल बनाउन सकेमा म्याग्दीको पर्यटन प्रर्बधनमा समेत सघाउने छ’ अध्यक्ष केसीले भने । फेस्टिबलका लागि ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा १५० सदस्यीय मुल आयोजक समिति समेत गठन गरिएको छ ।

मोनाले फेस्टिबलमा म्याग्दीका पर्यटकीय गन्तब्यको बिषेशतालाई समेत प्रष्टाउने, म्याग्दीका उत्पादन, धार्मिक तथा कला र संस्कृतिको महत्वका बारेमा समेत जापानी र अन्य मुलुकबाट जापानमा रहेकालाई समेत जानकारी गराउने भएकाले फेस्टिबल सम्रग म्याग्दीका लागि कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

फेस्टिबल सम्पन्न गर्न बिभिन्न ६ वटा उपसमिति समेत गठन गरिएको मोना जापानका प्रबक्ता कमल बानियाँले बताए । करीव २० वटा स्टलहरु रहने फेस्टिवलमा म्याग्दी जिल्लाको धार्मिक, पर्यटन, कला र संस्कृतिलाई प्राथमिकता दिइने छ ।

फेस्टिबलमा म्याग्देली कलाकारका साथै जापानमा रहेका नेपाली कलाकार र जापानी कलाकारहरुको विशेष मौलिक सांस्कृतिक प्रस्तुती रहने छ । कार्यक्रम सम्पन्न गर्न करिब ४५० मान अर्थात नेपाली ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

फेस्टिबलमा जापानमा रहेका बिभिन्न जातीय, क्षेत्रीय एबम भेगीय सस्थाहरुका साथै मोना अन्तराष्ट्रिय, विश्वभर रहेका मोनाका राष्ट्रिय कार्यकारी समिति, म्याग्दीका विभिन्न संघसंस्थाहरुसँग समेत सहकार्य गरिने छ ।

मोना फेस्टिबलले जापानीमा सकारात्मक सन्देश प्रवाह गर्न सकेमा म्याग्दीका पर्यटकीयस्थलमा समेत भ्रमण बढाउन सहज हुने भएकाले मोना आइइसीले सक्रियतापूर्वक सहकार्य गर्ने मोना आईसिसि अध्यक्ष ददिवल खड्काले बताए । यसैबीच मोना जापानले जापानभरी छरिएका म्याग्देलीलाई फेस्टिबल सफल बनाउन आवश्यक सहयोगका लागि समेत अपिल गरेको छ ।

Leave a Reply