म्याग्दी सदरमुकाम बेनी र आसपासका गाउँमा बेलाबेलामा युवाको समूहबीच बेलाबेला ‘ग्याङ फाइट’ परिरहन्थ्यो। सामान्य विवादले पनि उग्ररुप लिँदै जाँदा बेलाबेला ती समूह एकअर्कासँग भीड्दै आएका थिए। दुई यूवा समूहको झगडा नियन्त्रण प्रहरीका लागि टाउको दुखाईको विषय बन्दै आएको थियो। भेटिदाँ वित्तिकै झगडा गर्ने यूवाबीच हालसम्मको विवादलाई सल्टाउने गरि विहीबार बेनीमा दुई समूह भेला भए।

पूरानो रिसइबीलाई मिलापत्र गर्ने निहुँमा भेला भएका उनै दुई समूहबीचको विवादले विहीबार बेलुकी पुन उग्र रुप लियो । अनि त्यही भीडमा अन्धाधुन्ध खुकुरी प्रहार भयो। खुकुरी प्रहारबाट एकजना युवाको ज्यानै गएको छ। अर्का एकजना युवा घाइते भएका छन् । घटनामा ज्यान गुमाएका गर्बुजालाई अर्को समूहले फोन गरेर एक्लै बोलाएको थियो तर, उनी समूहमै पुगे ।

बेनी नगरपालिका–८ बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट रघुगंगा गाउँपालिका–१बेग घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय सुशील गर्बुजाको ज्यानै गएको छ। हात, पेट र छातीमा प्रहारले रक्ताम्य भएका सुशिलालाई अस्पताल पु¥याउनेबित्तिकै ज्यान गयो ।

सुशीलकै समूहका सदस्य बेनी–६ अर्थुङगेका अनुराग शाही घाइते भएर थप उपचारका लागि पोखरामा छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतकको विपक्षी समूहका युवालाई नियन्त्रणमा लिएको छ।दुई समूहमा बाँडिएका युवा समसाँझै भएको घटनाबाट बेनीबजारबासी त्रसित छन् ।

न्यूरोडको कामना डेभलपमेन्ट बैंक नजिकैको भित्री गल्लीमा भेला भएका यूवाहरूको विवादकै बिच हात हालाहाल भएपछि साथमा रहेको चक्कु, खुकुरी, रड र घरेलु हतियारले अन्धाधुन्ध प्रहार गरेको त्यो दृश्य झन्डै फिल्मी शैलीको थियो।

‘एक्कासी ठूलो समुहमा यूवाहरू भेला भएका थिए,‘हानाहान भएपछि केहीबेरमा सबै भागे’एक प्रत्यक्षदर्शी स्थानीयले भने ।घटना हुनुभन्दा अगाडी दुईचार जना यूवा जम्मा भएकोमा पछाडी गल्लीबाट थप यूवाहरू थपिएपछि झडप भएको थियो । यो समूहको यसअगाडी धेरैपटक झगडा र कुटाकुट भएको थियो।

‘दुइ समूहमा बाँडिएका युवाको सामान्य खालको विवाद पहिले देखि नै रहेछ। विवाद ठूलो होईन तर, रमाइलो गर्ने क्रममा झै झगडा गरिरहने समूह भएको खुलेको छ,’म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक कुमार गुरुङले भने । समूहमा यूवती र अन्य विभिन्न विषयमा विवाद भएका यूवाहरू समेत थपिदैं जाँदा ठूलो ग्याङ बनेको थियो । ग्याङफाइटकै लागि बाहिरबाट मान्छे नबोलाइ जिल्लाभित्रैका यूवा जम्मा गर्ने गरेका थिए।

दुबै समूहले यूवाहरूलाई यसअगाडी भएका भगडामा समेत प्रहरीले अनुसन्धान गदैं मुद्धा र सचेत बनाएर छोड्ने गरेको थियो । ‘ठूलो खालको रिसइबी भन्दा पनि मादक पदार्थ सेवन गर्ने र झगडा गर्ने समूहबीचको विवाद हो’ प्रहरी निरिक्षक गुरूङले भने । एकै उमेर समुहका यूवाहरूमा तँ भन्दा म के कम भन्ने इगोको कारण मानवीय क्षती भएको छ । ग्रामिण क्षेत्रबाट अभिावकसँगै झरेका, उच्च शिक्षा लगायत विभिन्न कारणले बेनीमा बस्ने यूवाहरूको समूहको झगडा मिलाउन दुबैतर्फ निकट रहेकाले प्रयास गरेपनि असफल भएका थिए ।

जहाँ भेटे कुटाकुट हुने भएकाले यूवाहरूले साथमा घरेलु हतियार समेत बोकेर हिड्ने गरेको अवस्थामा पहिला पहिला परेका झगडालाई मिलापत्र गर्ने भनेर दुई समूह विहीबार भेला भएको र त्यही भेला पुनःझगडामा परिणत हुँदा खुकुरी हानाहानसम्म भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

‘हुन त योजनावद्ध नभई भवितव्य देखिन्छ। तर, हतियार प्रहार भएको छ। देखादेख हतियार लिएर त आएनन तर, पछि ग्याङ बीच नै विवाद भएपछि प्रतिकारमा उत्रने तरिकाले खुकुरी प्रहार गरेको अनुमान छ,’ प्रनाउ कुँवरले भने । उनले घटनापछि प्रहरीले विहीबार बेलुकी नै २ जना र शुक्रबार थप २जनालाई पक्राउ गरेको थियो ।यही समूहबीच माघे संक्रान्ति मेलामा पनि ग्याङ फाइट भएको थियो। मेलामा भएको झडपमा प्रहरीले दुबै समूहलाई महोत्सवस्थलमै नियन्त्रणमा समेत लिएको थियो।

उनीहरुको विवादबारे प्रहरीलाई पनि जानकारी थियो । ग्याङफाइटमा संलग्न र प्रहरीले खोजी गरेकामा पहिलाकै घटनाहरूमा जोडिएका युवाहरू छन् भने कोही नयाँ पनि छन् ।युवा समूहहरू बीचको ग्याङफाइट बेनीबजारका लागि नयाँ विषय नभएपनि ज्यानै जाने गरी भएको झगडाले भने बजारबासीमा असुरक्षाको त्रास बढेको छ।

प्रहरीले नियन्त्रणमा लिएका र फरार भएका अभियुक्तहरू विगतमा राजनीतिक दलका नेता र विभिन्न ब्यक्तिबाटै अघोषित संरक्षणको काम भएकाले युवाहरूको पनि मनोबल बढेको थियो । त्यसैको परिणाम कुटाकुटजस्ता घटनाले बेनीबजार अशान्त छ ।

Leave a Reply