म्याग्दी, १५ माघ । वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट, बीचमा पर्छ ठूलो (ढोडेनी) खोला, खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ (तेस्रो र उकालो) बाटो उक्लेपछि पुग्न सकिन्छ, बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट ।

म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो (ढोडेनी) खोलामा झोलुङ्गे पुल बनेपछि प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट र प्रसिद्ध ऐतिहासिकस्थल ज्यामरुककोटको दूरी नजिकिएको छ ।

पुल नहुँदा ज्यामरुककोटको भकुण्डेचौर, सानालेख हुँदै बागलुङको पञ्चासे र सीम हुँदै पञ्चकोट पुग्नुपर्ने बाध्यता अन्त्य भएकाले यी दुवै धार्मिक र ऐतिहासिकस्थल अब नजिकिएका ज्यामरुककोटका टीकाबहादुर कार्कीले बताए ।

बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत सो पुल निर्माण गरिएको हो । एक करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्बाइ २६० मिटर र उचाइ ८५ मिटर रहेको छ ।

पुल निर्माण भएपछि छिमेकी जिल्ला बागलुङका चनौटे, रातमाटा, भान्छा, पञ्चकोट, पञ्चासे र म्याग्दीका अर्जम, फापरखेत, भकुण्डेलगायत गाउँका हजारौँ मानिसलाई आवतजावत गर्न सहज भएको भकुण्डेचौरका खिमबहादुर कार्कीले बताए ।

बागलुङको पञ्चासे र चनौटे गाउँका बासिन्दाको खेत म्याग्दीमा र म्याग्दीको फापरखेत र अर्जमका बासिन्दाको खेत जग्गा बागलुङमा पर्ने भएकाले खेती गर्नका लागि डेढ, दुई घन्टा हिँडेर आवतजावत गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ठूलो खोलामा पुल नहुँदा निकै सास्ती खेप्नुपर्ने बाध्यतामा रहेका दुवै जिल्लाका बासिन्दा पुल बनेपछि हर्षित भएका छन् ।

पुल निर्माणपछि कृषकलाई मात्रै होइन, विद्यार्थी, शिक्षक र कर्मचारीलाई पनि निकै सहज भएको छ । दुई घन्टा लगाएर भकुण्डेको अर्जुन माविमा पढ्न आउने चनौटेका विद्यार्थी अब घरबाट निस्केको १५ मिनेटमा विद्यालय र विद्यालय छुटेको १५ मिनेटमा घर पुग्न पाएका छन् । त्यसैगरी शिक्षक र कर्मचारीलाई पनि निकै सुविधा पुगेको स्थानीय भीम पौडेलले जानकारी दिए ।

गाउँको पुछारमा दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दीको फापरखेत र बागलुङको चनौटे गाउँको मुहार नै फेरिएको चनौटे घर भई हाल फापर खेतमा बस्दै आएका प्रवेश कुँवरले बताए । पुल हेर्न र प्राकृतिक सौन्दर्यमा रमाउनका लागि दैनिक २० भन्दाबढी व्यक्ति गाउँमा आउने गरेको फापरखेतका स्थानीयवासी शिव घिमिरेले जानकारी दिए ।

पुल निर्माण भएपछि स्थानीयलाई त फाइदा भएको छ नै धार्मिक क्षेत्र पञ्चकोट र ऐतिहासिकस्थल ज्यामरुककोटमा पर्यटक आवागमन बढेको छ । बागलुङको धार्मिक पर्यटकीयस्थल पञ्चकोटमा आएका पर्यटक म्याग्दीको ऐतिहासिकस्थल ज्यामरुककोटमा आउने गरेका छन् भने ज्यामरुककोटमा आएका पर्यटक पञ्चकोटसम्म पुग्ने गरेका छन् ।

Leave a Reply