विश्व हिन्दु महासंघ म्याग्दीले अब हरेक शनिबार सदरमुकाम बेनीमा पुराना धर्म–ग्रन्थ र हिन्दू धर्मको मुख्य आधार मानिने पुराण र बेद बाचन गर्ने भएको छ ।

हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरूको संरक्षणको अभियानमा सक्रिय रहेको महासंघले खुल्लामञ्चस्थित भगवती मन्दिर परिसरमा माघ ८ गते देखि १८ पुराण, १८ उपपुराण र ४ बेदको बाचन गर्ने महासंघ म्याग्दीमा अध्यक्ष डण्डपाणि उपाध्यायले बताउनुभयो ।

‘हरेक हप्ता करिब डेढ घण्टा बाचन गरिन्छ, ज्ञानका भण्डार मानिने बेद र पुराण बाचनका लागि जिम्मेबारी समेत दिइएको छ’अध्यक्ष उपाध्यायले भन्नुभयो । सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन मानव सभ्यताकै सबैभन्दा पुरानो पुस्तक पनि बेद भएको अध्यक्ष उपाध्यायको भनाई छ।

त्यस्तै देवता, तीर्थ, व्रत साहित्यिक र दार्शनिक चिन्तन, भौगोलिक र ऐतिहासिक वर्णन, अवतार वर्णन, स्वर्गनरकको स्थिति, वर्णाश्रम धर्म, याज्ञिक लगायतका विषयबस्तु पुराणमा समेटिएको छ। महापुराण र उपपुराण १८÷१८ गरी ३६ पुराणको गणना गरिए पनि हाल महापुराणलाई नै बढी ग्रहण गर्ने गरिएको छ।

आगामी सोमबार सदरमुकाम बेनीमा बेद र पुराण सहित बजार परिक्रममा गरिने तथा पण्डित निलकण्ठ आचार्यले पहिलो बाचन गर्ने कार्यक्रम समेत तय भएको उपाध्यक्ष बिक्रम श्रेष्ठले बताउनुभयो ।

‘सोमबार शुभारम्भ हुन्छ, हरेक शनिबार बाचन हुन्छ’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । शुभारम्भको दिन सबै जातजाति, धर्म, संघसंस्थालाई समेत पत्रचार गरिएको छ । सबै धर्ममा आस्था राख्नेहरु बिच भाइचाराको सम्वन्ध कायम राख्दै धर्म परिवर्तन गराउँदै हिँड्नेहरुलाई निरुत्साहित गर्न आवश्यक रहेको समेत विश्व हिन्दु महासंघ म्याग्दीले जनाएको छ ।

विश्व हिन्दु महासंघ म्याग्दीका निर्वतमान अध्यक्ष कृष्णप्रसाद शर्माले बाचन सहित भजनकृतन लगायतका धार्मिक गतिविधि नियमित सञ्चालन गरिने बताउनुभयो । म्याग्दीमा ‘आफ्नो धर्मको रक्षा गरौंँ, वन्धुत्व भाव जगाउँ’ भन्ने मूल अभियान सहित पालिका र वडास्तरमा समेत समिति गठन सहित विभिन्न कार्यक्रम हुने गरेको छ ।

 

Leave a Reply