म्याग्दीमा क्रियाशील व्युटिसियन महिलाहरुको संस्था सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले प्रमिला जोशी श्रेष्ठलाई सम्मान गरेको छ । सौन्दर्यकर्मी तथा संघको निवर्तमान अध्यक्ष समेत रहनुभएकी श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापनसहित सम्मान गरिएको हो ।
हालै मात्र लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको अध्यक्षमा निर्वाचित भएको खुशीयालीमा सौन्दर्यकला व्यवसायी संघले श्रेष्ठलाई सम्मान गरेको जनाएको छ । लोकदीप सहकारीको अध्यक्षमा निर्वाचित सौन्दर्यकर्मी श्रेष्ठलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन र सम्मान गरिएको सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष गंगा थापा कार्कीले बताउनुभयो ।
सौन्दर्यकर्मी मात्र नभई श्रेष्ठलाई आर्थिक कारोबार गर्ने संस्थाको नेतृत्व तहमा पुगेको भन्दै सम्मान गरिएको छ । श्रेष्ठ लोकदीप बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभाबाट सर्वसम्मत रुपमा अध्यक्ष बन्नुभएको छ् । श्रेष्ठलाई संघका अध्यक्ष कार्की, संस्थापक अध्यक्ष संगीता श्रेष्ठ, सचिव अश्मी महत, कार्यसमिति सदस्य विष्णु खवास लगायतले बधाई ज्ञापन गर्नुभएको थियो ।
बधाई ज्ञापन ग्रहणपछि बोल्दै अध्यक्ष श्रेष्ठले सौन्दर्यकर्मी दिदीबहिनीहरुको माया र सम्मानले आफूलाई अगाडि बढ्न थप हौसला मिलेको बताउँदै सम्मान गरेकोमा धन्यवाद दिनुभयो । म्याग्दी जिल्लामा सौन्दर्यकला व्यवसायी संघले नयाँ सौन्दर्यकर्मी उत्पादनको साथसाथै विभिन्न रचनात्मक कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

Leave a Reply