बेनी अस्पतालको ५० शैयाको निर्माणाधीन भवनमा अहिले काम गर्ने जम्मा ५ जना मजदुर छन् । दुईजनाले लुगा धुदै थिए, एक जना आराम र दुई जनाले फोहोर संकलन गदैं थिए । ५ जना कामदारलाई प्रयाप्त काम गर्ने गरी ठेकेदारले निर्माण साम्रागी नहुदाँ उनीहरूलाई दिन कटाउन समेत मुस्किल छ । नेपालको शक्तिशाली ठेकेदारले अटेर गर्दा अलपत्र परेको भवन अहिले झट्ट हेर्दा ‘भूत बंगला’ जस्तै देखिने अस्पतालको हालत हेर्दा केहीबर्ष बन्ने छाटकाट देखिदैन ।

निर्माण व्यवसायी हराएको सूचना सहितको तस्बिर सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्री सहित विभागीय मन्त्रीलाई ध्यानाकर्षण, ठेकेदारलाई पटक पटक लिखित ताकेता, गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद, जनप्रतिनिधि, सरकारी निकायका उच्च पदस्थ कर्मचारी लगायतले चौतर्फी दवाव दिदाँ समेत नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष एवम् ठेकेदार रवीसिंहल श्रेष्ठले अटेर गरेपछि भवनले गति लिएको छैन् ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनलाई समेत अटेर गर्ने निर्माण ब्यवसायीको दम्भ र सरकारी लाचारीपनको कारण बेनी अस्पतालका बिरामीले सास्ती खेप्नुपरेको छ ।

Adv

काममा फर्किएको सन्देश दिएर छुटको खेती गरेका निर्माण ब्यवसायीसँगको सम्झौता रद्ध गर्न समेत सरकारी निकायलाई फलामको चिउरा चपाएजस्तै भएको छ ।

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो। २० मंसिर २०७६ भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ।

निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको तीन वर्ष बितिसक्दा समेत अस्पतालको भवन निर्माण योजनाका काम करिब करिब ६५ देखि ७० प्रतिशत मात्रै सकिएको बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले बताए। ‘ठेक्का रद्ध गरी नयाँ प्रक्रिया नजाँदासम्भ भवन बन्दैन, एउटा ब्लक भएपनि हस्तान्तरण गर्न गरिएको अनुरोधलाई ठेकेदारले बेवास्ता गरेका छन्’ अध्यक्ष सुबेदीले भने ।

भवनलाई पूर्णता दिन अहिलेसम्म गरिएका सबै प्रयास असफल जस्तै देखिन्छ । निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण जोन अस्पताल सहितको धेरै अवसर गुमेको अध्यक्ष सुबेदीले बताए। अस्पतालले भवन समयमै नसकिँदा अस्थायी संरचनाबाटै बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको बेनी अस्पतालका चिकित्सकको भनाई छ ।

‘ठेकेदारले आँखामा पट्टि र कानमा तेल हालेर सुतेजस्तै गरेका छन्,‘बालुकाको घर बन्न सजिलो हुन्थ्यो होला, अस्पतालको भवन बनाउन सकिएन’ एक चिकित्सकले भने । भवन अलपत्र पर्दा अनुवभी र दरबन्दी अनुसारका चिकित्सक समेत बेनी अस्पतालमा आउन आनकानी गर्ने गरेका छन् ।

भवनका कारण सेवा समेत सहज रुपमा दिन र थप सेवा विस्तारमा समेत अस्पताललाई समस्या भइरहेको छ । बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी वार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन्। अस्पतालको यो अवस्थाले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने म्याग्दीका राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिको भाषण अहिले बालुवामा पानी हालेजस्तै भएको छ ।

Adv

 

Leave a Reply