नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करणबाट म्याग्दी बेनी नगरपालिका–८,का सन्तोष पुनले उत्कृष्ट १२ बाटै बाहिरिएका छन् । नेपाल आइडलको सुरुवातदेखि नै उत्कृष्ट लयमा रहेका सन्तोष टप १० का लागि प्रतिस्पर्धा गरेपनि सफल हुन सकेनन् ।

म्याग्दी जिल्लाको पूरानो गीतसँगै यूवापुस्ताले रुचाइरहका कोशेली पस्किएर दर्शकस्रोताको मन जित्न सफल भएका पुनले नेपाल आइडलको प्रतिस्पर्धाबाट बाहिरिएपनि सांगीतिक यात्रा भने नरोकिने बताए । ‘उत्कृष्ट १० भित्र पर्न सकिन,यो अवधिमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति आभारी छ, मेरो यात्रा निरन्तर जारी छ’ पुनले भने । नेपाल आइडलबाट सांगीतिक यात्राको सुरुवात मात्रै भएको बताउँदै पुनले अबका दिनमा झनै उत्कृष्ट प्रस्तुती सहित आउने बताए ।

नेपाल आइडल अवधिभर पुनको प्रस्तुतीले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको ध्यान तान्न सफल भएको छ । पुनलाई उत्कृष्ट १०का लागि बेनीबजार तथा ग्रामिण क्षेत्रका साथै विदेशबाट समेत भोटिङ भएको थियो । उनले प्रतियोगिता अवधिमा एक दर्जन गीत पस्किएका थिए । निर्णायकको भूमिकामा रहेका न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले प्रेरणादायिक जिम्मेबारी सहित गायन क्षेत्रमा प्रचुर सम्भावना भएको भन्दै प्रशंसा गर्ने गरेका थिए । उनले गोल्डेन माइक समेत पाएका छन् ।

क्यान्सर पीडित आमाको उपचार, बुबाले गरेको पसलको जिम्मेबारी तथा गायन क्षेत्रलाई समेत समय दिएको बताउँदै गायन क्षेत्रलाई थप उचाईमा पुर्याउने भन्दै निरन्तर मेहनत गरिरहेका छन् । कोरोनाको लकडाउनको समयमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । हातमा गितारसँगै परिवारको जिम्मेबारीलाई समेत निभाइरहेका पुनको परिवासँग जोडिएको भिडियो धेरै हेरिएको थियो ।

Leave a Reply