नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सदरमुकाम बेनीमा २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  कुल ५ सय ६ जना शेयर सदस्य आबद्ध रहेको सहकारीमा गएको आर्थिक वर्ष २०७९÷०८० सम्म शेयर पुँजी ९४ लाख ७५ हजार नौसय रुपैयाँ रहेको छ ।

गत आवमा पाँचलाख ७९ हजार आठसय ७८ रुपैयाँ जगेडा कोष, एकलाख ७९ हजार नौसय १२ रुपैयाँ अन्य कोष, एक करोड २२ लाख ९९ हजार ४१ रुपैयाँ निक्षेप सङ्कलन र एक करोड ५९ लाख ५१ हजार छ सय २३ रुपैयाँ लगानी रहेको सहकारीले जनाएको छ ।

साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष चिना बानियाँले अध्यक्षको प्रतिवेदन, सचिव दुर्गा केसीले प्रगति, कोषाध्यक्ष जमुना पुन पूर्जाले आर्थिक र लेखा समिति सदस्य कल्पना पौडेलले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले सहकारी संघसंस्थाहरुले महिलाहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिला दिदीबहिनीहरुलाई उद्यमको क्षेत्रमा जोड्न आवश्यक रहेको बताउँदै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताउनुभयो । सहकारी संस्थाहरुले उत्पादन र व्यावसायिक क्षेत्रमा लगानी वृद्धि गरी रोजगारको सिर्जना गर्नुपर्ने र समुदायस्तरमा गरिबी निवारण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने उहाँको भनाइ छ ।

साधारणसभाको अवसरमा नारी बचततर्फ कौशिलादेवी जिसी, दैनिक बचतमा निर्मला श्रेष्ठ, सीता पूर्जा, मासिक बचततर्फ सपना खत्री, आवधिक बचतमा सन्तु पौडेल, लगानीतर्फ जमुना खत्री, ओमकुमारी रेग्मी र ओमकला बानियाँलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता, उपाध्यक्ष दिलमाया बिटालुको स्वागत र सचिव दुर्गा केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार रेखाकौशल रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply