बेनी बजारका न्यु वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय र माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालय बेनीमा जारी जेसीजकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेकाछन् । पहिलो क्वाटर फाइनलमा सारदा माध्यमिक विद्यालय छिस्वाङलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै न्यू वेष्ट प्वाइन्टले सेमीफाइनलमा स्थान बनाएको हो । त्यस्तै म्याग्दी एकेडेमी सिंगालाई एक शुन्य गोल अन्तरले पराजित गर्दै माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले सेमीफाइनलमा स्थान बनाएको हो ।

तेश्रो क्वाटर फाइनलमा बेनी सामुदायिक मावि र जनप्रिय मावि र चौथो क्वाटर फाइनलमा बेनी बोर्डीङ र हेम मावि सिवाङ बीचको खेल शनिबार हुने म्याग्दी जेसीजले जनाएको छ । बेनी सामुदायिक मावि र हेम मावि बिचको बिजेताले वेष्ट प्वाइन्ट संग र बेनी सामुदायिक मावि र जनप्रिय मावि बीचको बिजेताले माउण्ट संग सेमीफाइनलमा भिड्ने छन् ।

प्रिक्वाटर फाइनलमा जनप्रिय माविले धौलागिरी माबिलाई पराजित गर्दै क्वाटर फाइनल प्रवेस गरेको थियो । त्यस्तै अर्को खेलमा बेनी बोर्डीङले सरस्वती माध्यमिक विद्यालय तातोपानीलाई पराजित गरेको थियो । गलेश्वर मावि तोरीपानीलाई पराजित गर्दै बेनी सामुदायिक मावि क्वाटर फाइनल प्रवेश गरेका छन् । अर्को प्रि क्वाटरमा माउण्ट एभरेष्टले सरस्वती आधारभुत विद्यालयलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको थियो ।प्रतियोगितामा जिल्लाका विभिन्न २३ विद्यालयले सहभागीता जनाएका छन् ।

म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगिताको टाईटल प्रायोजकमा राम–विमला फाउण्डेशन रहेको फुटबल प्रतियोगिताका मुल संयोजक कार्यकारिणी उपाध्यक्ष विनोद घर्तीले बताउनुभयो । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गालेरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको छ । साथै सेमिफाईनलिष्ट दुई टिमलाई नगद ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रतियोगिताको सह–प्रायोजकमा मिनबहादुर विश्वकर्मा स्मृति कोष, शैक्षिक प्रायोजक एभरेष्ट ग्लोबल कन्सल्टेन्सी, होटल प्रायोजक होटल डाँफेले गरेको छ ।प्रतियोगितामा जिल्ला भित्रका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले विद्यालयको तर्फबाट प्रतियोगितामा सहभागीता जनाउदै छन् । गत वर्ष भएको जेसीजकपमा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए भने यस वर्ष संख्या बढेको छ ।

Leave a Reply