विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक युवा नेता सहित दुई जना रुसी सेनामा भर्ति भएका छन्। विप्लवको पार्टीमा आबद्ध भएर सेक्रेटरी समेत भइसकेका ‘डायमण्ड सी म्याग्देली’ यतिबेला रुसी सेनामा भर्ना भएका हुन्। रुसी सेनामा नेपाली नागरिकको भर्ती गैरकानुनी भएपनि कैयन नेपालीहरु भर्ती भइसकेको बताइएकै बेला उनी समेत सेनामा भर्ती भएको पाइएको हो। आफू रुसी सेनामा भर्ती भएको डायमण्डले नै सामाजिक सञ्जालमार्फत पुष्टि गरेका थिए ।

सामाजिक सञ्जालमा ‘लेनिनको देशबाट रातो सलाम’ भन्दै उनले आफू रुसी सेनामा भर्ना भएको जानकारी गराएका छन् ।
‘लेनिनको देशमा पुगेर पुटिनको सिपाहीको रुपमा जिम्मेवारी सुरु गरेपश्चात विविध कारणले करिब १ महिना सामाजिक सञ्जालमा उपस्थिति जनाउन सकिएन’, उनले भनेका छन्, ‘यद्यपि सवैप्रतिको मिठो सम्झना यथावत् नै थियो–छ ।

राइफल त हिजो दशवर्षे जनयुद्धमा पनि बोकेकै हो र आज पनि बोकिएको छ । तर उद्देश्य नितान्त भिन्न छ, अर्थात हिजो नेपाली जनताको मुक्तिको लागि र आज पराई भूमिको रक्षा एवम् आफ्नो पारिवारिक व्यवस्थापनको लागि ।’ पार्टी विभाजन पछि २०७१ मै विप्लव नेतृत्वको नेकपाको म्याग्दी जिल्ला सेक्रेटरी भएको उनले बताएका छन् ।

अहिले केन्द्रीय सदस्य नै बन्ने अवस्था रहेपनि विभिन्न बहानामा पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफू र पार्टीलाई समेत बदनाम गर्नुभन्दा बरु विदेश गई रगत–पसिना बगाएर परिवारको उचित व्यवस्थापनसँगै पार्टी तथा आन्दोलनलाई भिन्न ढंगले सहयोग एवम् समर्थन गर्नु नै वेहत्तर लागेको उनको भनाइ छ ।

‘अहिलेसम्म सीसीएम (केन्द्रीय सदस्य) बनिसकिन्थ्यो, त्यसैको सहारामा सानोतिनो व्यवसाय गरेर सामान्य पारिवारिक व्यवस्थापन गर्न त्यति मुस्किल थिएन’, उनले भनेका छन्, ‘तर निश्कलंकित रही निष्ठाको राजनीति गर्न खोज्ने, आफ्नो कारण आफू स्वयम् र पार्टीलाई कुनै दाग नलागोस् भन्ने पवित्र सोच राख्ने म जस्तो पात्रले दायाँबायाँ सोच्ने प्रश्नै रहेन ।

विभिन्न बहानामा पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफू र पार्टीलाई समेत बदनाम गर्नुभन्दा बरु विदेश गई रगत–पसिना बगाएर परिवारको उचित व्यवस्थापन सँगै पार्टी तथा आन्दोलनलाई भिन्न ढंगले सहयोग एवम् समर्थन गर्नु नै वेहत्तर लाग्यो।’विक जनयुद्धमा करिब आधादशक विताएका थिए ।

तत्कालिन माओवादी सेनाले गरेका ठूला ठूला आक्रमणमा भाग लिएका विकलाई ठूला हतियार चलाउने समेत अनुभव छ । युद्धको अनुभव भएका कारण विक अहिले रुस र युक्रेन युद्ध चलिरहेका समयमा रुसी सेनामा भर्ना भएका हुन् । तत्कालिन समयमा विक दम्पत्ती नै माओवादी आन्दोलनमा थिए ।

२०६२ ÷०६३ सालको जनआन्दोलन पश्चात विक खुल्ला राजनीतिमा सक्रिय थिए । पछिल्ला केही वर्ष यता विक वैदेशिक रोजगारीका क्रममा विदेशमा थिए । दुईमहिना अघि नेपाल आउनुभएका विक यहाँबाट रुसी सेनामा भर्ना हुन रुस पुगेर अहिले यूक्रेनको सिमानामा अभ्यास गरिरहेका छन् । उनीसँगै आफ्नै भाई पनि रुसी सेनामा छन् । तालिम अवधिभर नेपाली ६० हजार रुपैयाँ हुने र तालिम पूरा भएपछि नेपाली ३ लाख रुपैयाँ तलब हुनेछ ।

रुसी सेनाका विभिन्न क्याम्पमा थप म्याग्देली समेत रहेको बताइएपनि म्याग्दीबाट कतिको संख्यामा रुस र युक्रेनको सैनिकमा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन । नेपालबाट दुबईको बाटो हुँदै रुसी सैनिकमा भर्ना हुन मस्को पुगेको पूर्वमाओवादी लडाकुका करिब ५० भन्दाबढी रहेको बताइएको छ भने नेपाली सेनाबाट अवकाश र नेपाल प्रहरीबाट समेत अवकाश भएकाहरु सेनामा छन् ।

Leave a Reply