हेमन्त ऋतुको सुरुआतसँगै आकाश छ्याङ्गै उघ्रिएको छ । पाहारिलो घामको स्पर्शले कलकलाउँदो प्रकृतिमा नयाँ रौनक थपिएको छ । उत्तरपट्टि सेता हिमाल अत्यन्त मनमोहक देखिन थालेका छन् । पर्यटकीयस्थलमा पर्यटकहरु रमाइहेका भए पनि म्याग्दीका गाउँबस्तीहरु भने सुनसान भएका छन् ।

दसैँ–तिहारजस्ता चाडपर्व मनाउन लामो बिदामा गाउँ आएकाहरु आ–आफ्नो कार्यक्षेत्रतिर फर्किएपछि गाउँबस्ती सुनसान देखिएका हुन् । अध्ययन, रोजगार तथा विभिन्न कामले बजार क्षेत्रमा बस्दै आएका दसैँ–तिहार मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै गाउँ आएका धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेका मङ्गला गाउँपालिका–५ छिसबाङका विकल सेनले बताए ।

“केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशमा रहेका आफन्तहरुसँग भेटघाट, रमाइलोले दिनहरु बितेको पत्तै भएन,” उनले भने, “चाडपर्व सकिएसँगै गाउँ आएकाहरु आ–आफ्नो कार्यक्षेत्रमा फर्किन थाले । हेर्दाहेर्दैै त्यति रमाइलो गाउँ फेरि सुनसान र विरक्तलाग्दो हुन थालेको छ ।”

म्याग्दीका ६ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो थन्काएर गहुँ छर्ने, आलु रोप्ने याम सुरु भएको छ । अहिले गाउँमा मानिसहरु अत्यन्त कम छन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् । मालिका गाउँपालिका–६ की देवी घर्तीले भनिन्, “दसैँ–तिहारको बेला गाउँमा जत्तिको रमाइलो कही भएन । चाडपर्व सकिएसँगै गाउँ खाली हुन थालेको छ । अहिले गाउँमा युवा पुस्तालाई देख्नै मुस्किल पर्छ । बूढाबूढी र विद्यालय जाने उमेरका बालबालिका बाहेक अरू गाउँमा देखिँदैनन् ।”

“यहाँका ग्रामीण क्षेत्रका अधिकांश मानिस, पोखरा, काठमाडौँ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँसराइ गरेर गएका छन् । युवाहरु विदेश छन् । हिजोआज गाउँमा बस्नेको सङ्ख्या निकै कम हुँदै गएको छ”, मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले भने ।

अहिले सहरको सेवा सुविधा बिस्तारै गाउँमा पनि पुग्न थालेको छ । सबै गाउँमा यातायातको पहुँच छ । शिक्षा, स्वास्थ्य र सञ्चारको पनि राम्रो सुविधा गाउँमा भए पनि युवा पुस्ता सहर केन्द्रित हुन थालेपछि विकास र सुविधाको उपयोग गर्नेहरुसमेत नपाइने अवस्था उत्पन्न हुन थालेको मालिका–२ की मीना पुनले बताइन् । “गाउँमा पुगेको सेवा सुविधाभन्दा थप सेवा सुविधा खोज्दै अधिकांश बजार झर्दा गाउँमा बूढापाका र बालबालिका मात्रै छन्”, उनले भनिन्, “बिस्तारै गाउँ रित्तिँदै जान थालेको छ । दसैँ–तिहारजस्ता ठूला चाडपर्वमा केही दिन रमाइलो हुन्छ, त्यसपछि फेरि गाउँबस्ती सुनसान हुन थालेका छन् । ”

चाडपर्वले अपनत्वको बोध गराउने हुँदा सबै मानिसहरु आफ्नै जस्ता लाग्ने पुनको भनाइ थियो । वर्षौंदेखि टाढा रहेका आफन्तसँगको मिलन निकै रमाइलो हुने उनले बताइन् ।

“दसैँको फूलपातीको दिनदेखि तिहारको भोलिपल्टसम्म गाउँघरमा जता गए पनि आफन्त भेटिन्थे । तिहार सकिएपछि वरपरका छरछिमेकी सबै बजार झरे, दसैँ–तिहार मनाउन विदेशबाट बिदा लिएर आएकाहरु पनि फर्किए ।  त्यसपछि गाउँबस्ती सुनसान हुन थालेको छन्”, दरबाङका मीन सुनारले भने ।

पश्चिम म्याग्दीका धेरै जसो ठाउँबाट सहर र तराई झर्नेको सङ्ख्या धेरै रहेको स्थानीय स्थानीय रणबहादुर सिउथानीले बताए । “बसाइँसराइ गरेर तराई झरेकाहरु दसैँ–तिहार र कूल पूजाका लागि गाउँ उक्लिने गर्छन्”, उनले भने, “दसैँ–तिहारभरि गाउँमा चहलपहल भए पनि अहिले घरहरु खाली हुँदै गएका छन् ।” गाउँमा रोजगारको राम्रो अवसर र सेवासुविधा नहुँदा धेरैले सहर बजार र सुविधा सम्पन्न ठाउँ खोज्ने सिउथानीको भनाइ छ ।

एक दशक अगाडिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै हुने गरेका भन्दै अचेल हुने खानेहरु सबै बजार झर्न थालेका देवीस्थानका पदम बुढाले बताए । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमारामा परिणत हुँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

Leave a Reply