म्याग्दीको मंगला गाउँपालिका-५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ । बुधबार साँझ धारा गाउँबाट घर फर्किने क्रममा लाम्मेलाको भिरबाट लडेर सापकोटाको मृत्यु भएको कांग्रेस मंगला गाउँपालिका सचिव विरेन्द्र बुढाथोकीले जानकारी दिए ।

बुधबार साँझ करिब ६ बजेको समयमा अन्दाजी ६० वर्षिय सापकोटाको भिरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । राती अबेरसम्म घर नआएपछि परिवार सहित स्थानीयले खोजी गर्दा विहिबार विहान बाटोदेखि करिब ५० मिटर तल मृत अवस्थामा सापकोटाको शब भेटिएको थियो ।

सापकोटाको टाउकोमा गम्भीर चोट देखिएको छ । गाउँमा भाई गुठी बैठक सकेर घर फर्किने क्रममा घटना भएको बताइएको छ । जनश्रम आधारभुत विद्यालय धाराको पूर्व प्रअ समेत रहेका सापकोटाको कांग्रेस अर्मन इकाइ सभापति थिए। सापकोटाका तीन छोरी र एक छोरा छन् ।

कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाले सापकोटाको मृत्युको खबरले मर्माहत बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । मृतक सापकोटाको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयले पोष्टमार्टम रिर्पोटबाट जानकारी हुने बताउँदै प्रारम्भीक अनुसन्धानमा पैदलमार्गबाट आउँदै गर्दा लडेर मृत्यु भएको जनाएको छ ।

Leave a Reply