म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १ हजार ४१ जना शेयर सदस्य रहेको सहकारीको गएको आर्थिक वर्ष २०७९÷०८० सम्म शेयर पुँजी तीन करोड ४६ लाख र लगानी २० करोड २६ लाख ५६ हजार दुईसय ७९ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।

यसैगरी आम्दानीतर्फ दुई करोड ९५ लाख ८६ हजार एकसय २१ रहेकोमा खर्चतर्फ दुई करोड ७४ लाख ६४ हजार पाँचसय ८५ रुपैयाँ भएको छ । साधारणसभामा सहकारीका अध्यक्ष यामबहादुर बानियाँले अध्यक्षको प्रतिवेदन, सचिव भीमबहादुर खत्रीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गीता बोगटीले आर्थिक र लेखा तथा सुपरीवेक्षण समिति संयोजक कमला बानियाँ थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य हुमाकुमारी जिसीले सहकारी संघसंस्थाहरुले वित्तीय कारोबार सँगसँगै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संघसंस्थाहरुले व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी स्वदेशमै रोजगारको सिर्जना गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारीले कृषि, पशुपालनलगायत उत्पादनका क्षेत्रमा लगानी गरी आर्थिक उपार्जनको वातावरण बनाउनुपर्ने बताउनुभयो । सोही साधारणसभाको अवसरमा केन्द्रीय सदस्य जिसी र संघका जिल्ला अध्यक्ष कार्कीले सहकारी, सहकारीका सिद्धान्त, शेयर तथा बचत परिचालन, आर्थिक कारोबारको अवस्था, लगानीको क्षेत्राधिकार, वर्तमान समयमा सहकारीमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरुको विषयमा संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा समेत प्रदान गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा विशेष बचततर्फ राजन बानियाँ, साधारण बचततर्फ चेतप्रसाद शेरचन, बाल बचततर्फ समृद्धि विक, स्वर्णिम बचततर्फ मनोज र मदन बानियाँ तथा असल ऋणी रनबहादुर सार्कीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष कृष्णसिङ बानियाँ र गोर्खा भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष क्याप्टेन मिनबहादुर कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, उपाध्यक्ष भोजबहादुर रिजालको स्वागत र सचिव भीमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply