कसरी सुरु भयो इजरायल र प्यालेस्टाइनबीच विवाद ?
इजरायल र प्यालेस्टाइनबीचको विवाद १०० वर्ष पुरानो हो । अहिलेको इजरायल र प्यालेस्टाइनी क्षेत्र प्रथम विश्वयुद्धअघि अटोमन साम्राज्यअन्तर्गत थियो ।

टर्किस साम्राज्य भनेर समेत चिनिने अटोमन १४औँदेखि २०औँ शताब्दीसम्म दक्षिणपूर्वी युरोप, पश्चिमी एसिया र उत्तरी अफ्रिकालाई समेटर बनाइएको ठूलो राज्य थियो ।

अटोमन साम्राज्यले पहिलो विश्वयुद्धमा हार व्यहोरेपछि अहिले प्यालेस्टाइनी र इजरायलीबीच विवादित यो भूमिलाई बेलायतले आफ्नो नियन्त्रणमा लिएको थियो । त्यति बेला त्यहाँ अरबी मुस्लिमको बाहुल्यता थियो । अल्पसंख्यक यहुदी थिए ।

adsfgm-1696757364.jpg

सोही समयमा युरोपमा उत्पीडन भोगिरहेका यहुदी गएर उक्त क्षेत्रलाई आफ्नो ‘नेसनल होमल्यान्ड’ बनाउन खोजे, जसलाई बेलायतको समर्थन थियो । तर, पहिलेदेखि नै त्यहाँ रहेका अरब मुस्लिम वा प्यालेस्टाइनी समुदायले यो कदमको विरोध गर्न थालेको थियो ।

यहुदीका निम्ति त्यो ठाउँ पुर्ख्यौली थलो थियो । प्यालेस्टाइनीले भने उक्त भूमिमा आफ्नो अधिकार रहेको दाबी गरे ।

सन् १९२० देखि १९४० र दोस्रो विश्वयुद्धताका नाजी जर्मनले करिब ६० लाख यहुदीको नरसंहार गरेको भनिने घटनाबीच त्यहाँ पुग्ने यहुदीको संख्या बढ्यो । यस्तोमा यहुदी र अरब जनसंख्याबीच तनाव बढ्यो । बेलायती शासनको पनि विरोध चर्कियो ।

१९४७ मा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई यहुदी र अरब राज्य गरी दुई हिस्सामा विभाजन गर्नुपर्ने भन्दै मतदान गरिएको थियो । जेरुसेलमलाई अन्तर्राष्ट्रिय सहरका रूपमा मानिएको थियो । यहुदी पक्षले स्वीकार गर्‍यो । अरब पक्षले भने यसलाई स्वीकार गरेन ।

इजरायलको स्थापना
विवाद साम्य नभएपछि १९४८ मा बेलायत प्रशासन त्यहाँबाट घर फर्कियो । यहुदी नेताहरूले इजरायल स्थापनाको घोषणा गरे ।

इजरायलको यो कदमको धेरै प्यालेस्टाइनीले विरोध गरेसँगै युद्ध भयो । छिमेकी देशहरूले सैन्य बल प्रयोग गरेरै हस्तक्षेप गरे । त्यति बेला लाखौँ प्यालेस्टाइनी आफ्नो घर छोडेर भागेका थिए । सन् १९४७–०४९ को अवधिमा युद्धका बेला सात लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक त्यहाँबाट विस्थापित भएको मानिन्छ ।

युद्धविराम गरिँदा इजरायलले प्यालेस्टाइनको महत्त्वपूर्ण भूभाग नियन्त्रणमा लियो । त्यसै बेला जोर्डनले वेस्ट बैंक कब्जा गरेको थियो भने इजिप्टले गाजा । जेरुसेलम पश्चिममा इजरायली र पूर्वमा जोर्डनको सेनाबीच विभाजित थियो ।

शान्ति सम्झौता नहुँदा इजरायल र प्यालेस्टाइनबीच निरन्तर युद्ध जारी रह्यो । १९६७ को अर्काे युद्धमा इजरायलले जेरुसेलम, वेस्ट बैंक र गाजालगायत ठूलो क्षेत्र नियन्त्रणमा लियो ।

अहिले अधिकांश प्यालेस्टाइनी शरणार्थीका रूपमा गाजा र वेस्ट बैंकमा छन् । छिमेकी मुलुक जोर्डन, सिरिया र लेबनानमा पनि उनीहरू छन् ।

इजरायलले यहुदी राज्यका रूपमा आफ्नो अस्तित्वलाई खतरा हुने भन्दै  यी प्यालेस्टाइनीलाई आफ्नो घर फर्कन दिएको छैन । इजरायल विश्वको एक मात्र यहुदी राज्य हो ।

अहिले पनि इजरायलले वेस्ट बैंकलाई आफ्नो नियन्त्रणमा राखेको छ । गाजा भने इजरायलको नियन्त्रणमा छैन ।

इजरायलले जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्छ । प्यालेस्टाइनीले पूर्वी जेरुसेलमलाई आफ्नो भविष्यको प्यालेस्टाइन राज्यको राजधानी दाबी गर्दै आएका गर्छन् ।

विगत ५० वर्षमा इजरायलले जेरुसेलम क्षेत्रमा बस्ती निर्माण गर्दै ६ लाखभन्दा बढी यहुदीको वासस्थान बनाएको छ ।

ewfdg-1696757415.jpg

तनाव र युद्ध
पूर्वी जेरुसेलम, गाजा र वेस्ट बैंकमा बसोबास गर्ने प्यालेस्टाइनी र इजरायलीबीच बारम्बार तनाव एवं द्वन्द्व भएको छ । गाजामा प्यालेस्टाइनी लडाकु समूह हमासको शासन छ । हमास इजरायलविरुद्ध लड्दै आएको छ ।

सन् १९८७ मा प्यालेस्टाइनी धर्मगुरु शेख अहमद यासिनले इजरायलविरुद्ध लड्न सैन्य क्षमताको अन्तर्राष्ट्रिय सुन्नी स्लामिक संगठनका रूपमा हमासको स्थापना गरेका थिए । हमासलाई हतियार आपूर्ति हुन नदिन इजरायल र इजिप्टले सीमामा कडाइ गर्ने गरेका छन् ।

गाजा र वेस्ट बैंकमा रहेका प्यालेस्टाइनीले इजरायलको दमन र शोषणको सामना गरिरहेको बताउने गरेका छन् । अर्कोतर्फ, आफूलाई प्यालेस्टाइनीबाट जोगाउन खोजेको इजरायलले जिकिर गर्दै आएको छ ।

भविष्य के होला ?
इजरायल र प्यालेस्टाइनबीचको समस्यामध्ये प्यालेस्टाइनी शरणार्थीको स्थिति के हुन्छ भन्ने एउटा प्रमुख हो । वेस्ट बैंकमा इजरायलले बसालेको बस्ती हटाउने कि रहन दिने भन्ने अर्काे विषय छ ।

जेरुसेलम दुवै पक्षले साझा गर्ने/नगर्ने र इजरायलसँगै अर्कातिर प्यालेस्टाइन राज्यको स्थापनाजस्ता प्रश्नहरू यहाँ छन् ।

वर्षाैँदेखि वार्ता र शान्ति सम्झौताका प्रयास गरिए पनि कुनै टुंगोमा पुग्न सकेको छैन । यस किसिमका जटिल समस्याका कारण प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व कति लामो समयसम्म जान सक्छ भन्ने प्रश्न यथावत् छ । एजेन्सीको सहयोगमा

Leave a Reply