म्याग्दीमा ४ वटा शाखा रहेको गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलोपटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ । ‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि लक्षित गरी सेवा सुरू गरेको हो ।

ग्राहकलाई विभिन्न सेवासुविधामार्फत आर्कषित गरिरहेको बैंकले क्रेडिट कार्डमार्फत थप सुविधा थपेको छ । सम्झौता गरेका बिक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ०% ब्याजदरमा मासिक किस्ताका रुपमा तिर्न सकिने विकास बैंकका सामान्य सेवा विभागका प्रमुख अनुमान श्रेष्ठले बताए।

ग्राहक आफैँले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिने बैंकका कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । नेपालमा करिब तीन दशकअगाडि सुरुआत भएको क्रेडिट कार्ड सुविधामा सीमित नेपालीको मात्र पहुँच पुगेको अवस्थामा क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदासम्बन्धी जानकारीसँगै सेवा सुरु गरेको बताए ।

बडादसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले योे सुविधामार्फत लाभ उठाउन सक्नेछन्। बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

हाल गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं विभिन्न डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ। नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको म्याग्दीको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा रहेको छ ।

 

 

Leave a Reply