म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको आगामी अक्टोवर १३, १४ र १५ गते म्याग्दी सदरमुकाम बेनीको खुला मञ्चमा सम्पन्न हुन लागेको पाँचौं महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । जापानबाट ददिवल खड्का र नेदरल्याण्डबाट मिम पुर्जाले अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै दोहोरो भिडन्त हुने पक्का भएको हो ।

मोनाद्वारा गठित निर्वाचन समितिले कुल २७ जना निर्वाचित हुने गरी अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ३, महिला उपाध्यक्ष १, महासचिव १, सचिव २, महिला सचिव १, कोषाध्यक्ष १, सह कोषाध्यक्ष १, युवा संयोजक १, महिला संयोजक १, महिला उप–संयोजक १, क्षेत्रीय संयोजक ६ र क्षेत्रीय उप– संयोजक ६ जनाले उम्मेदवारी दिन सक्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेसँगै विभिन्न पदमा उम्मेदवारी परेको जनाएको छ ।

मोनाको विधान र निर्वाचन नियमावलीअनुसार उम्मेदवार मनोनयनको लागि आह्वान गरिएकोमा सो समय सीमाभित्र अध्यक्षमा मिम पुर्जा (नेदरल्याण्ड) र ददिवल खड्का (जापान) को उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा सुर्जे भट्टचन (पोर्तुगल), उपाध्यक्षहरूमा नन्द प्रसाद गर्बुजा (यूएई), हरि राम्जाली (अस्ट्रेलिया) र किसान जिसी (युके) महासचिव सुनेस केसी (दक्षिण कोरिया), सचिवमा हिक्मत श्रेष्ठ (अस्ट्रेलिया), निलम कुमार थापा (अमेरिका) कोषाध्यक्ष नरेन्द्र फगामी (कतार), युवा संयोजक सचिन श्रेष्ठ (जापान) र महिला संयोजक पूर्णिमा पाइजा( हङकङ) उम्मेदवारी परेको जनाएको छ।

दिएको समय सीमाभित्र महिला उपाध्यक्ष, महिला सचिव, सह–कोषाध्यक्ष, महिला सह–संयोजक, विभिन्न क्षेत्रीय संयोजक ६ जना क्षेत्रीय उप–संयोजक ६ जना चाहिनेमा कुनै पनि उम्मेदवारी नपरेको हुँदा निर्वाचन समितिको निर्णय अनुसार उक्त पदहरूको लागि मात्र थप २४ घण्टा समयावधि थपिएको थियो ।

थपिएको समय सीमामा सह–कोषाध्यक्ष प्रेम छन्त्याल (अमेरिका)ले मात्र उम्मेदवारी दिएका छन् । अध्यक्षबाहेक सबै पदमा निर्विरोध देखिए पनि निर्वाचन समितिले आधिकारिक घोषणा गरेको छैन । मोनाका मुख्य निर्वाचन अधिकृत प्रकाश पुनले उम्मेदवारी नपरेका पदका बारेमा थप छलफल गरी टुगो लगाउने बताए ।

Leave a Reply