नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले पहिरो पीडितहरुलाई राहतस्वरुप नगद सहयोग गरेको छ । अनेमसंघले अन्नपूर्ण गाउँपालिका–३, दानाको सुवा गाउँका पहिरोपीडितलाई राहत रकम वितरण गरेको हो ।

अविरल वर्षासँगै आएको पहिरोबाट घर पुरिएर पूर्ण रुपमा क्षति बेहोरेका सुवा गाउँका सतबिर पाईजालाई १२ हजार छ सय ९० र अन्य २० जना पहिरोपीडितलाई प्रतिव्यक्ति दुईहजार रुपैयाँको दरले राहत रकम वितरण गरिएको अनेमसंघ म्याग्दीले जनाएको छ । अनेमसंघका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज थमसरा पुनको विशेष उपस्थितिमा राहत रकम वितरण गरिएको थियो ।

उक्त रकम अनेमसंघका जिल्ला अध्यक्ष यशुदा रोका, केन्द्रीय सदस्य एवं अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन र दानाका वडा अध्यक्ष रमेश पूर्जाले पहिरो पीडितहरुलाई वितरण गर्नुभयो । राहत रकम वितरण कार्यक्रममा अनेमसंघ म्याग्दीका अध्यक्ष यशुदा रोकाले अनेमसंघको पहलमा आर्थिक सहयोग अभियान सञ्चालन गरेर राहत रकम सङ्कलन गरिएको बताउनुभयो । उहाँले पहिरो पीडितहरुको घाउमा सानो भए पनि सहयोग गर्ने उद्देश्यले अनेमसंघले आर्थिक सङ्कलन गरी रकम वितरण गरिएको जानकारी दिनुभयो ।

दानाका वडाध्यक्ष रमेश पूर्जाले वर्षासँगै आएको बाढी, पहिरोले भौतिक क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको बताउनुभयो । उहाँले दानाको सुवा गाउँका पहिरो पीडितहरुलाई वडा कार्यालयको सभाहलमा तत्कालका लागि बस्ने र खाने ठाउँको व्यवस्थापन गरेर सुरक्षित राखिएको भए पनि दिर्घकालीन बसाई व्यवस्थापन गर्न खाली जग्गाजमिन नभएकाले समस्या भैरहेको बताउनुभयो ।

गएको साउन ३२ गते राति परेको अविरल वर्षाको कारणले दानाको सुवा गाउँमा गाउँभन्दा माथिबाट मानव वस्तीमा पहिरो खसेपछि त्यहाँका २१ घरधुरी विस्थापित भएका छन् । उक्त पहिरोले एकजना स्थानीयको घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ भने बाँकी घरमा आंशिक क्षति पुगेको छ ।

 

Leave a Reply