म्याग्दीमा खुला मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले पाँचौ महाधिवेशनको अवसरमा पर्यटन प्रर्बधनका लागि आगामी असोज २६ गते विहान लभ्लीहिल मिनी म्याराथुन प्रतियोगिता गर्ने जनाएको छ ।

बेनी नगरपालिका–२,ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिल भ्रमण गर्न सदरमुकाम बेनीबजारदेखि पर्यटकीय क्षेत्र लभ्लीहिल पुग्न पक्की पदमार्ग निर्माणको मुख्य लगानीकर्ता समेत रहेको मोनाले बेनीको हाँडेभिरदेखि लभ्लीहिल हुदै खबराबाट बेनीसम्मको मिनी म्याराथुन प्रतियोगिता तय गरिसकेको मोना आइसीका उपाध्यक्ष जंगबहादुर पुनले बताए ।

‘लभ्लीहिललाई फन्को लगाउँदै बेनीमा आएर सकिन्छ, सहभागी सबै म्याग्दीको नागरिक हुनुपर्छ’ खेलकुद मुल संयोजक पुनले भने । उनका अनुसार सहभागीले म्याग्दीमा जन्मिएको परिचयपत्र सहित नाम दर्ता गर्नुपर्ने बताए ।

बेनी नगरपालिकाको कार्यालय, म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण भएको पदमार्गबाट लभ्लीहिलमा पुगेर खबरा हुदै बेनीमा आउने क्रममा बाटोमा स्वयंमसेवकहरु सहितको स्वागत तथा आवश्यकता देखिएको ठाउँमा थप सहयोग गर्ने समुह समेत हुने छ ।

प्रतियोगितामा १८ बर्षदेखि ४५ बर्ष उमेरकाले सहभागि हुन पाउनेछन् । प्रथम हुनेलाई नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । द्धितीयलाई नगद १५ हजार, तृतीय हुनेलाई १० हजार रुपैयाँ साथ मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

करिब ६० लाखभन्दा बढी लागत लागेको पदमार्ग ५१८ मिटर लम्बाई र १.८ मिटर चौडाइको दायाँबाया दुवैतर्फ रेलिङ जडान गरिएपनि केहीस्थानमा भत्किएकाले मर्मतसम्भारको आवश्यकता छ ।

म्याराथुन अगाडी पदमार्गको आवश्यक पर्ने स्थानमा मर्मतसम्भार तथा सरसफाई समेत गरिने छ । मोनाको महाधिवेशन मुल आयोजक समितिका संयोजक ददिवल खड्काले २६ को उद्घाटनलाई म्याग्दी जिल्लाको पहिचान चिनाउने गरी बेनीबजार परिक्रममा गरिने बताए ।

उनले म्याग्दीका कला र संस्कृति झल्किने गरी उद्घाटन समारोह गरिने बताए । २६, २७ र २८ गते सम्म हुने महाधिवेशनमा विश्वभर रहेका करिब ५ सयभन्दा धेरै प्रतिनिधिहरु आउने भएका छन् । मोनाले अहिलेसम्म २८ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको छ ।

Leave a Reply