म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै कोभिड १९ वडा समन्वय समितिको आम्दानी तथा खर्च समेत सार्वजनिक गरिएको छ ।

नेप्टेचौर स्थित वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई तथा खर्च सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष चक्र बहादुर केसी र वडा सचिव कृष्ण बानियाँले अघिल्लो आवमा सम्पन्न भएका विकास, निर्माण तथा योजनाको प्रगति र सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष केसीले शुसान, शिक्षा, कृषि, पशु, स्वास्थ्य, खानेपानी तथा सिंचाई, विद्युत, मठमन्दिर, रोजगार, पर्यटन, महिला विकास, विपद व्यवस्थापन, अपाङ्गता, सडक, पदमार्ग लगायतका बिषयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै वडा सचिव बानियाँले व्यक्तीगत घटना दर्ता, मेलमिलाप केन्द्र र सामाजिक सुरक्षा तर्फको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीयले योजनाको कार्यान्वयन गुणस्तरीय नभएको, खानोपानी योजनामा ढिलासुस्ती र व्यथिति भएको, उपभोक्ता समितिमा आफ्नो मान्छेलाई मात्रै सहभागी गराएको, सिचाईको काम जनप्रतिनिधिले आफुलाई पायक पर्ने ठाउँमा मात्र गरेको, लक्षित वर्गहरुका लागि प्रयाप्त कार्यक्रम संचालन नभएको, टुक्रे योजनाहरु संचालन गर्दा प्रभाकारिता नभएको, आवश्यकताको आधारमा योजना छनौट नभएको उत्पादनमुखी कार्यक्रम संचालन नभएको लगायतका गुनासो राखेका थिए।

स्थानीयले उठाएका प्रश्नहरुको उत्तर दिदै वडा अध्यक्ष चक्र बहादुर केसीले योजना कार्यान्वयन पक्षलाई गुणस्तरीय र प्रभावकारी बनाउन क्रमशः टोल स्तरी योजना सम्पन्न गर्ने प्रावधानको सुरुवात गरिएको बताउनुभयो । उहाँले योजना छनौट गर्दा आवश्यकताको आधारमा सवै टोलबासीहरु संग समन्वय र छलफल गर्ने गरिएको बताउँदै सामाजिक काम गर्ने इच्छा सहित अग्रसर हुने व्यक्तिलाई उपभोक्ता समितिमा राखिएको बताउनुभयो । उहाँले सकेसम्म टुक्रे योजनाहरुलाई हटाउने गरि ठुला योजना संचालनको लागि टोलबासीहरु संग छलफल गर्ने गरिएको पनि बताउनुभयो ।

उहाँले आमा समुह संग उपमेयर कार्यक्रम अन्तर्गत रु १० लाखको बजेटमा गलेश्वरमा चप्पल बनाउने तालिम संचालन गरिएको बताउँदै महिलाहरुलाई उद्यम संग जोडनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा वडा सदस्य गणेश सुवेदीले पनि सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष बेल बहादुर चोखालको पनि उपस्थिति रहेको थियो ।

वडा सचिव बानियाँको संचालनमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण पत्रकार राकेश शर्मा र अमित विश्वकर्माले गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा कोभिड १० वडा समन्वय समितिका कोषाध्यक्ष गणेश बहादुर बानियाँले २०७८ जेठ १० गतेदेखि २०८० असार ३१ गते सम्मको आम्दानी तथा खर्च प्रस्तुत गर्नुभएको थियो । २०७ जना व्यक्तिहरुबाट प्राप्त सहयोग २० लाख १३ हजार ६ सय ३९ रुपैयाँ र हाल सम्मको व्याजबापत प्राप्त २ लाख १६ हजार ४ सय २३ रुपैयाँ गरि कुल आम्दानी २२ लाख ३० हजार ६३ रुपैयाँ रहेको र खर्चतर्फ विभिन्न शिर्षकमा ५ लाख २ हजार १ सय ७४ रुपैयाँ भएको कोषाध्यक्ष बानियाँले बताउनुभयो ।

उहाँले समितिको नाममा १७ लाख २७ हजार ८ सय ८८ रुपैयाँ मुक्तिनाथ सहकारीको घतान शाखामा रहेको पनि जानकारी दिनुभयो । उक्त रकमलाई स्थानीयहरुको सहभागीतामा आवश्यक छलफल गरि वडा भित्रका विपन्न विरामीहरुको उपचारमा सघाउने गरि कोष निर्माण गर्ने र त्यसको दर्ता गरि छुट्टै संचालक समिति र कार्यविधि निर्माण गर्ने योजना बनाएको समितिको संयोजक निवर्तमान वडा अध्यक्ष बेल बहादुर चोखालले बताउनुभयो ।

Leave a Reply