म्याग्दीको उपल्लो लेक धौलागिरि गाउँपालिका–१ गुर्जाको सामुदायिक वनमा गरिएको जडिबुटी खेत प्रभावकारी बन्दै गएको छ । तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) लगाएतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो ।

डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा १ लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा लगाएत अन्य बहुमूल्य जडिबुटी निकै राम्रोसँग फस्टाउँदै गएकोले गुर्जालाई जडिबुटीको हब र अध्ययनकेन्द्र बनाउन लागिएको धवलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वडाअध्यक्ष झकवहादुर छन्त्यालले बताउनुभयो ।

समूहमा आबद्ध २५ जनाले सामूहिक रूपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर रोपेका विरुवा अहिले उत्खनन योग्य बनेका उहाँले बताउनुभयो । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुंगाको एक सय ५ मिटर लामो पर्खाल समेत निर्माण भएको छ ।

“हामीले जडिबुटी खेतीको पनि परिक्षण गरिसक्यौं” वडाअध्यक्ष छन्त्यालले भन्नुभयो “परिक्षण सफल भयो,अव हामीले गुर्जालाई देशैभरीका अध्ययेताहरुका लागि लक्षित गरी जडिबुटी अध्ययन केन्द्र बनाउने तयारीमा छौं ।”

वडाअध्यक्ष छन्त्यालका अनुसार यहाँ अतिस, विषमा, खिरौला, विषजरा,पदमचाल, अमलवेद लगायतका दुई दर्जन बढी प्रजातिका जडिबुटी खेती सुरु भएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीले गत आर्थिक आर्थिक वर्ष ०७९/८० मा जडीबुटी खेतीका लागि ४ लाख ८० हजार रुपैयाँ सहयोग गरेको वडाअध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

“उपभोक्ताले कूल लागतको १० प्रतिशत लागत साझेदारी गरेका छन्,” उहाँले भन्नुभयो “प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत कार्यालयले सहयोग गरेको हो ।” यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेति विस्तार भएको हो ।

बाँझो खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयवासीको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको जडिबुटी खेती समूहका अध्यक्ष तुलसी छन्त्यालले जानकारी दिनुभयो ।

“यसअघि गरिएको खेती सफल भयो । यहाँको भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ,” उहाँले भन्नुभयो “बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।”०७७ सालमा ७ हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपेका थिए । ०७८ मा हिमाली कृषि सहकारी संस्थामा आबद्ध कृषकले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए ।

बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।
समुद्री सतहदेखि ३ हजार २ सयदेखि ३ हजार ७ सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाइ, उत्तेजना नहुने, जुकाजस्ता समस्या समाधानको लागि पनि महत्त्वपूर्ण उपचार पद्धतिको रूपमा अतिस प्रयोग हुन्छ ।

Leave a Reply