म्याग्दीका बजार तथा ग्रामिण क्षेत्रमा बिना अनुमति अवैध रुपमा सञ्चालनमा आएका औषधि पसलहरुले अझै कानुनी प्रक्रिया पूरा गर्न अटेर गरेका छन्। सरकारको अनुमति बिना संचालन तथा प्रक्रिया पूरा नगरी जटिल उपचारका लागि समेत उपकरण जडान गरेका फार्मेसी र क्लिनिकहरुलाई कानुनी प्रक्रिया अनुसार दर्ता गरी संचालन गर्न पटक–पटक ताकेता गरेपनि मेडिकलहरुले टेरेका छैनन् ।

गएको जेठ महिनामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सबै स्थानीय तहभित्रका फार्मेसी र क्लिनिकहरूलाई कानुनी प्रक्रियामा ल्याउने प्रतिबद्धता जनाएका स्थानीय तहका प्रमुखहरूले नै बेवास्ता गर्दा अवैध रुपमा रहेका औषधि पसलहरुले बिरामी भर्ना गर्ने, आफुखुसी औषधि दिने, उपकरणहरू जडान गरेर विरामीको उपचार गर्ने गरेको पनि पाइएको छ ।

ग्रामिण क्षेत्रमा अति ब्यस्त मानिने दरबाङ बजारका साथै स्वास्थ्यकर्मीले गाउँमा सञ्चालन गरेको औषधि पसलका बारेमा सेवाग्राहीले समेत गुनासो गर्ने गरेका छन् । चौतर्फी गुनासो आउँदा समेत सम्बन्धित निकायले चासो नदेखाएका कारण नागरिकको स्वास्थ्यमा खेलवाड भैरहेको छ ।

स्थानीय तहसँग जोडिएकै औषधि पसल अबैध हुदाँ समेत मालिका गाउँपालिकाले चासो देखाएको छैन भने अन्य स्थानीय तहमा रहेका स्वास्थ्य शाखाहरूले समेत दर्ताविना सञ्चालित औषधि पसलका बारेमा प्रक्रियामा जाने आट गरेका छैनन् ।

स्वास्थ्य क्षेत्रमै सक्रिय लगायत अन्य विविध कारणले समेत जनप्रतिनिधिहरूलाई समस्या भएको बताइन्छ । बेनी नगरपालिकाले ग्रामिण क्षेत्रमा समेत दर्ता नभएका औषधी पसलमा इजाजत नलिएका स्वास्थ्यकर्मीहरुले बिरामी जाँच्ने र औषधी दिने गरेको गुनासो आएपछि विवरण संकलन गरिरहेको जनाएको छ ।

बेनी अस्पताल नजिकै रहेको डिलक्स हिलर्स डेन्टल अवारनेश एण्ड सर्भिस सेन्टरमा नगरपालिकाको अनुगमन टोलीले ताला लगाएर मापदण्ड र दर्ता प्रक्रीया पुरा गर्न निर्देशन दिएको थियो ।एक महिनाभित्र प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएपछि ताला खुलाइएको छ ।

जिल्लामा अन्य स्थानीय तहले सार्वजनिक कार्यक्रममा अबैध औषधि पसललाई बन्द गर्ने र प्रक्रियामा लैजाने प्रतिबद्धता जनाए अनुसार काम नगर्दा औषधि पसलले मनपरी गरेका छन । ‘चिकित्सकले प्रेसक्रिप्सन (पुर्जा)मा बिरामीका लागि चारवटा औषधि सिफारिस गरेको पाइयो,‘चिकित्सकले नलेखेको कडा खालको एन्टिबायोटिक दिदाँ जटिल रोगीको संख्या बढेको छ’ एक स्वास्थ्यकर्मीले भने।

ग्रामिण क्षेत्रमा जनप्रतिनिधि र दलिय पहुँचका कारण अवैध औषधि पसल दर्ता प्रक्रियामा जान आनकानी गरेको उनले बताए। जिल्लाको सबै स्थानीय तहका वडास्तरमै अवैध औषधी पसल छन् ।

आधादशक अगाडी स्थानीय पत्रपत्रिका, रेडियोमार्फत दर्ता प्रक्रिया पूरा गरेर फार्मेसी तथा क्लिनिक सञ्चालन गर्न पटक–पटक सन्देश जारी गरिरहेको छ। स्वास्थ्य चौकी तथा सार्वजनिक स्थल सूचना टाँसिएको थियो । तर अहिलेसम्म औषधि पसलेहरुले निर्देशन लत्याएका छन् ।

Leave a Reply