म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङकी एक महिलालाई एक्कासी ज्वरो आउने र टाउको दुखेपछि दरबाङस्थित एक क्लिनिकले चिकित्सकको परामर्श विनै एन्टिबायोटिक औषधि दिएर पठायो । लगातार ज्वरो आउने, पेट, जीउ र टाउको दुखाइ महसुस भएपछि बेनी अस्पतालमा आएकी महिलाको रगत परीक्षण गर्दा डेंगुको संक्रमण देखियो ।

तीनदिनसम्म एन्टिबायोटिक र धेरै दुखाई हुदाँ पेनकिलर खाएको बिरामीको कुरा सुनेर बेनी अस्पतालका मेडिकल अधिकृत गोविन्द पोख्रेल अचम्ममा परे ।

साधारण शरीर दुखाइ,रुघाखोकी, घाटी खस्खसाउने,भाइरसले हुने संक्रमणको बेला समेत औषधि पसलमा पुगेर बिना चेकजाँच एन्टिबायोटिक औषधिको प्रयोग गर्ने बिरामी निको नभएपछि बेनी अस्पतालमा धाउने गरेका छन् ।

म्याग्दीका ग्रामिण तथा सहरी क्षेत्रमा सञ्चालित क्लिनिक,फार्मेसीले बिरामीलाई आर्कषित गर्न सामान्य अवस्थामा समेत छिटै निको हुने भन्दै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हाइडोजको औषधी भिराउने गरेको पाइएको छ ।

‘चिकित्सकाअनुसार सही मात्रामा र आवश्यकताबमोजिम तोकिएको समय अवधिसम्म खाने हो भने एन्टिबायोटिकले नकारात्मक असर गदैन’ बेनी अस्पतालका मेडिकल अधिकृत पोख्रेलले भने । उनले अस्पतालमा नियमित लामो समयसम्म एन्टिबायोटिक प्रयोग गर्ने बिरामीको समय–समयमा रगत र पिसाव समेत परीक्षण गर्ने गरिएको बताए ।

बेनी अस्पतालमा आउने बिरामीहरू एकपटक औषधि पसलले दिएको औषधीको विवरण अनुसार शरीरमा उस्तै लक्षण भएको समस्या देखिएमा चिकित्सकको परामर्श विना औषधी सेवन गर्ने गरेको समेत भेटिएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट अञ्जु थापाले बताईन् ।

‘जथाभावी उपचार पद्धति अपनाउने गरेको देखिएको छ, सामान्य बिरामीले प्रयोग गरेको औषधि देखेर धेरैपटक झस्किएको छु’ निमित्त मेसु थापाले भनिन् । उनले बिरामीको अवस्था हेरेर सामान्य औषधि प्रयोग गर्नुपर्ने बताइन् ।

‘एकैपटक कडा डोज प्रयोग गर्दैनौँ, मानिसको स्वास्थ्यको ख्यालै नगरी एकैपटक कडा खालका औषधि प्रयोग म्याग्दीमा धेरै हुने गरेको छ, जटिल बिरामीको संख्या अन्य जिल्लाको तुलनामा म्याग्दीमा धेरै हुनुको प्रमुख कारण औषधिको दुरुपयोग पनि हो’ थापाले भनिन् ।

उनले चिकित्सकको अनुमतिबिना कडा खालका एन्टिवायोटिक औषधि बिक्री गर्न नमिल्ने बताईन्। चिकित्सकको सिफारिस बिनै बिरामीले आफैँ वा औषधि पसलबाट किनेर एन्टिवायोटिक औषधि प्रयोग गर्दा जटिल समस्या देखिदाँ समेत बिरामीको उपचार गर्न कठिन हुने गरेको डा.थापाको भनाई छ ।

म्याग्दीमा चिकित्सकको सल्लाह अनुसारमात्र एन्टिबायोटिक औषधि प्रयोग गरौ’ भन्ने अभियानलाई घरघरमा पु¥याउनुपर्ने अनुभवी चिकित्सकको भनाई छ । एन्टिबायोटिक जनचेतनामूलक सप्ताह नेपालमा समेत मनाउने गरिएको भएपनि म्याग्दीमा भने स्वास्थ्य क्षेत्रका जानकारहरू, स्थानीय तहका स्वास्थ्य शाखा तथा सरोकारवाला निकाय समेत बेखबर छन् ।

म्याग्दीमा जथाभावी रुपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्दा मुटु, मृगौला, फोक्सोमा समस्या देखिएका जटिल बिरामीहरूको संख्या समेत हरेक बर्ष उकालो लागेको छ । सामान्य अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोगले जटिल रोग देखिएमा औाषधीले समेत काम गर्न छाड्नुका साथै थप समस्या समेत देखिन थालेको चिकित्सकले बताएका छन् ।

म्याग्दीका ग्रामिण क्षेत्रमा अवैध रुपमा सञ्चालित औषधि पसलहरूको गलत उद्धार पद्धतिलाई समेत रोक्न स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गरेका कारण सर्वसाधारणले गलत औषधिले थप रोगको भारी बोक्नुपर्ने बाध्यता रहेको छ ।

एन्टिबायोटिक औषधिका बारेमा बिरामी नै सचेत नहुँदा र स्वास्थ्यकर्मी र चिकित्सकले पनि आवश्यक नै नभएको बिरामीलाई एन्टिबायोटिक लेख्दिने गर्दा दुरुपयोग बढी रहेको र जसले गर्दा एन्टिबायोटिकले काम गर्न छोडिरहेको भन्दै नियमित बेनीमा आउने पोखराका बरिष्ठ हार्डर्जोनी, नथा तथा मेरूदण्ड स्पेशियालिस्ट प्रा.डा आकेश प्रजापतिले बताए।

उनले बिरामीको अज्ञानता र स्वास्थ्यकर्मीहरुको मनोमानीले जटिल समस्या उत्पन्न भएको बताए । पर्वत बेनीमा अवस्थित दिगो क्लिनिकमा हरेक महिना आउने बरिष्ठ जनरल फिजिसियन डा. अनिष भुषालले पेट, छाती, मुटु, सुगर तथा थाइराइडका धेरैजसो बिरामीहरू एन्टिबायोटिक औषधिको गलत प्रयोगमा फसेका बताए । उनले जटिल समस्या उत्पन्न हुनुमा औषधिको गलत प्रयोग समेत प्रमुख कारण भएको बताए ।

‘कतिपय बिरामी त साथीभाइको लहलहैमा लागेर पनि एन्टिबायोटिक प्रयोग गरिरहेका हुन्छन्’ डा. भुषालले भने । नियम र अवधि नपु¥याई एन्टिबायोटिक सेवन गरेमा रोग निको नभई फेरि बल्झिने, रोग अरूलाई सर्ने जस्ता समस्या आउने चिकित्सकहरू बताउँछन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एन्टिबायोटिक सम्बन्धी गरिएको एक अध्ययनमा नेपालमा २८ प्रतिशतले निजी र सरकारी संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सिफारिस बिनै एन्टिबायोटिक प्रयोग गर्ने गरेको पाइएको हो ।

यसै गरी २२ प्रतिशतले पूर्ण मात्रा एन्टिबायोटिक प्रयोग नगर्ने गरेको पाइएको छ भने १० प्रतिशत बिरामीले रोग छिटो निको हुने भन्दै एकै पटक डबल डोज खाने गरेको अनुसन्धानले देखाएको छ ।

ग्रामिण क्षेत्रका औषधि पसलले बिरामीलाई एन्टिबायोटिक सिफारिस गर्दा कम्पनीको नाम समेत लेख्न नसक्ने अवस्थामा बिरामीहरू पहिले प्रयोग गरिरहेको औषधिको खोल बोकेर आउने गरेको बेनी अस्पतालका चिकित्सक बताउँछन् ।

बिरामीलाई गलत औषधि दिएर औषधि ऐन २०३५ को परिच्छेद ४ को बर्खिलाप गरेकोले त्यहीअनुसार कारबाही अघि बढाइने बताए। ऐनको बर्खिलाप गर्नेलाई तीन वर्ष कैद अथवा २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।

Leave a Reply