काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

‘तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’ उनले भने। बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ । त्यही छाँगोको पानी कटाउने रेलिङ बिनाको सानो पुल छ ।  पुल भएको नजिकै सडकमा दुई मिटर जति लम्बाइको खाल्डो छ । पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे छ । प्रहरी उपरीक्षक गौतम भन्छन्, ‘कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो ।

सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ।’रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रो पटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा दुई जना महिलासहित आठ जनाको मृत्यु भएको छ । सत्र जना घाइते भएका छन् । म्याग्दीका एक जना बेपत्ता भएपनि हालसम्म खोजीकार्य जारी छ ।

यसैबीच मृत्यु भएका आठै जनाको सनाखत भएको छ।मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका–६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका–५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन्।

 

Leave a Reply