म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ्ग सडक खण्डको वैकल्पिक माग खोजिने भएको छ । म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा उक्त सडक खण्डको बैकल्पिक मार्ग खोज्न  लागि परेका छन् ।

सांसद गर्बुजाले भौतिक मन्त्रालय अन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोको समस्यालाई हल गरी दिन आग्रह गरेका छन् । फापरखेतको पहिरो बेनी –दाबाङ्ग सडकको सबैभन्दा टाउको दुखाईको विषय बनेको छ । उनका अनुसार सडकदेखि करिब २ सय मिटरमाथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

यहाँ करिब १८ वर्षअघि सडक मार्ग खोल्नुपूर्व नै पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुदाँ यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई  सद‌रमुकाम बेनी जोड्ने सडक वर्षायाममा निकै जोखिमपूर्ण बन्दै गएको सांसद गर्बुजाको भनाइ छ ।

हालसम्म उक्त सडकखण्डमा राज्यको करोडौ खर्च भएपनि समस्याको समाधान हुन नसकेको गर्बुजाले बताए । वर्षेनी खर्च गर्नुभन्दा अब नेपाल सरकारले यसको विकल्प खोजी दीर्घकालीन समाधान दिनुपर्ने उनले बताए ।

यसको दीर्घकालीन समस्याको समाधानका लागि पखेर  र पहिरो भन्दामाथि म्याग्दी नदीमा बेलीब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्नुपर्ने हुन्छ,’ सांसद गर्बुजाले भने ।

Leave a Reply