लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमणबाट फैलिन नदिन बेनी नगरपालिकाले लार्भा खोज र नष्ट अभियान सञ्चालन गरेको छ । बेनी नगरपालिकाको वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेका स्थानहरुमा शनिबार डेंगु रोगको प्रमुख कारण लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानहरू खोजी गर्दै नष्ट गर्ने अभियान सञ्चालन सुरु गरिएको हो ।

नगरपालिकाले स्थानीय टोल विकास संस्था, आमा समुह, यूवा क्लव लगायतका संघसंस्थासँगको सहकार्यमा लामखुट्टेको बासस्थान रहेको टायर, ड्रम, गमला, खाल्डाखुल्डी, नालीमा लामो समयदेखि जमेको पानीको सरसफाई गरिएको बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठले बताए ।

‘यो अभियान निरन्तर जारी रहन्छ,‘डेंगु नियन्त्रणको घरभित्र र वरिपरि पानी जम्न नदिन टोलबासीलाई नियमित सरसफाई गर्न अनुरोध गरिएको छ’ वडा अध्यक्ष श्रेष्ठले भने । सरसफाई अभियानमा स्थानीयबासीका साथै जनप्रतिनिधि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय बासीको सहभागिता रहेको थियो ।

आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंगु नियन्त्रणको उपाय रहेकाले टोलबासीको नियमित सरसफाईसँगै थप कार्ययोजना बनाएर काम गर्ने बिरेन्द्रचोक टोल विकास समितिका अध्यक्ष महेन्द्र श्रेष्ठmले बताए। उनका अनुसार टोलमा नियमित सरसफाई गर्ने स्थान बाहेक घरघरमा समेत सरसफाई सहितको अभियान सञ्चालन गर्ने बताए ।

म्याग्दीमा रोकथाम तथा नियन्त्रणमा गरेको कामका आधारमा डेंगुका बिरामी घटेको र पछिल्लो समय सर्वसाधारण समेत सचेत भएको अवस्थामा लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँमा ’एडिज एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको बासस्थान हटाउने अभियान समेत प्रभावकारी देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा बैशाख, जेठ र असार महिनामा २१ जनामा डेंगु पोजेटिभ देखिएको थियो भने गतबर्षको चैत्र महिनासम्म १ सय १० जना संक्रमति भएका थिए ।

त्यस्तै मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणको जोखिममा गएको तीन महिनामा ७ जना र गतबर्ष २३ जनामा पोजेटिभ देखिएको बेनी अस्पतालले जनाएको छ । डेंगु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ। यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । डेंगु लामखुट्टको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो।

Leave a Reply