उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१,दोवामा ५ सैयाको पालिकास्तरीय अस्पतालको भवन तयार भएको छ । संघीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार म्याग्दीका अन्य पालिकामा योजना नै अलपत्र परेको अवस्थामा दोवामा निर्धारित समयमै अस्पताल भवन निर्माण गरिएको हो ।

म्याग्दीको मंगला, धवलागिरीमा निर्माणधिन अवस्थामै रहेको र रघुगंगा गाउँपालिकामा जग्गा सहितको प्राविधिक पक्षमा ढिलासुस्तीका कारण अलपत्र परेको अवस्थामा दोवा गाउँ नजिकै ५ शैया क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘भवन सम्पन्न भएपनि हस्तान्तरणको काम बाँकी छ,‘ठेकेदारलाई भुक्तानीदिनुपर्ने करोडभन्दा माथिको रकम अझै निकासा भएको छैन’ प्रमुख सुबेदीले भने। उनले ठेकेदारलाई अन्तिम भुक्तानी निकासा भएपछि नापजाँच सहितका प्राविधिक प्रक्रिया पूरा गरेपछि उद्घाटन गरिने छ ।

अपाङ्गमैत्री भवन सडक सञ्जाल नजिकै रहेकाले समेत सञ्चालनमा आएपछि विरामीलाई सहज हुनेछ । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवास सहित ३५ वटा कोठा रहेको अन्नपूर्ण गापाका इन्जिनियर ईश्वर भण्डारीले बताए ।

भवनको तल्लो तलामा विभिन्न उपचार कक्ष राखिने छ भने माथिल्लो तलाका केही कोठा चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवासको रुपमा प्रयोग गरिने छ । भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजार छ सय ५२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

अस्पतालको भबन तयार भएपनि सडकबाट अस्पतालसम्म पुग्ने सडकमा ढलान सहित मोडमा स्तरोउन्नती मेडिकल उपकरण, फर्निचर, तारबार सहितको कम्पाउण्डीङ र नजिकै भत्किएको स्थानमा पक्की संरचना आवश्यक देखिएको छ ।

दोवाका स्थानीय यूवा अमृत गर्बुजाका अनुसार अस्पताल निर्माण गर्न अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना, नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, घमती पुर्जाले १३ आना, र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएकालाई समेत सम्मान गरिने गाउँपालिका अध्यक्ष भरतकुमार पुनले बताए ।

अस्पताल सञ्चालनमा आएपछि दोबाबासीलाई उपचारमा सहज हुने भएपनि पालिका भित्रका अन्य वडाका बासिन्दालाई सहजतका लागि बेनी–पोखरेबगर सडकखण्डबाट दोवा जोड्ने ग्रामिण सडकमा ढलान, कालोपत्रे सहितको स्तरोउन्नती आवश्यक देखिएको छ । सडकखण्डमा यात्रा निकै जोखिम रहेको अवस्थामा अस्पताल सञ्चालनमा आएपनि अन्य वडाबाट उपचारमा लागि आवतजावतमा समस्या हुने भएकाले तत्काल डिपिआर गरी सडक निर्माणमा बजेट विनियोजन गर्न स्थानियले माग गरेका छन् ।

Leave a Reply