गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आगामी वर्षको बजेटमा दुर्गम र पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको बताउनु भएको छ ।

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा असारे युवा क्लवले आयोजना गरेको असारे मेला २०८० लाई आइतबार सम्बोधन गर्नुहुदै मन्त्री जुग्जालीले प्रदेश सरकारको आगामी वर्षको योजना कार्यक्रममा दुर्गम र पिछडिएका क्षेत्रलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउनुभएको हो ।

“संघीयताको मर्म र भावना अनुसार अवसर र पहुँचबाट टाढा रहेका बस्तीका पूर्वाधार आयोजनालाई प्रदेश सरकारले प्राथमिकता दिएर बजेट बिनियोजन गरेको छ,” उहाँले भन्नुभयो “विकासका पूर्वाधारलाई ग्रामिण क्षेत्रको बसाईसराई रोक्ने, आर्थिक सम्बृद्धिसँग जोड्ने र वातावरणमैत्री बनाउन जोड दिएका छौ ।”

मन्त्री जुग्जालीले गलकोट–हटिया–ताराखोला हुदै म्याग्दी जोड्ने सडकको पहिलो खण्डलाई पूर्णता दिन ठेकेदारलाई ताकेता गरिएको, दोस्रो खण्ड र दलानचौरको पुलमा आगामी वर्ष ठेक्का लगाउन मिल्ने गरि बजेट बिनियोजन भएको बताउनुभयो । ग्रामिण सडक स्तरोन्नति गरेर सुरक्षित र सहज बनाउन प्रदेश सरकारले आगामी वर्ष टुक्रे योजना कटौति गरेको बताउनुभयो ।

विकास र सम्बृद्धिको प्रमुख सर्त शुसासन भएकाले सबैले आ आफ्नो ठाउँबाट भ्रष्ट्राचारको विरुद्ध आवद्ध उठाउनु र प्रतिवाद गर्नुपर्ने बताउनुभयो । संकृतिलाई जगेर्ना, पुस्तान्तरण गर्दै पर्यटक भित्र्याउने माध्यमको रुपमा विकास गर्नुपर्ने मन्त्री जुग्जालीको भनाई थियो ।

सामाजिक सञ्जालमा आरोप लगाउने र नकारात्मक मात्र टिप्पणी गर्ने प्रवृति बढेको भन्दै निराश नहुन र सुधारका लागि सबैले आ आफ्नो ठाउँमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । मन्त्री जुग्जालीले बागलुङमा चार पाङग्रे सवारी साधनको सवारी चालक अनुमतिपत्रको परिक्षा र ट्रायल सञ्चालन गर्ने तयारी गरेको जानकारी गराउदै प्रविधिको प्रयोग मार्फत यातायात कार्यालयको सेवालाई सहज बनाउन थालेको बताउनुभयो ।

ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिक (हिमाल)ले गाउँपालिकाले आगामी वर्ष ठूला गौरवका आयोजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । अध्यक्ष बिकले प्रदेश सरकारबाट ताराखोलामा रु. १२ करोड भन्दा बढी बजेटका आयोजना भित्रिएका जानकारी दिनुभयो । संघीय सरकारबाट पनि ठूला आयोजनामा बजेट भित्र्याएकाले कार्यान्वयनमा सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाले परम्परा, संस्कृतिका साथै भाषा संरक्षणमा गाउँपालिकाले लक्षित बर्गको कार्यक्रमबाट बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले असारे मेला, भुस पोल्ने पर्व, हरिबोधनी एकादशी, साउने संक्रान्ति, भदौरे मेला जस्ता ताराखोलामा महत्वका साथ मनाइने चाडपर्वलाई गाउँपालिकाले सघाएको बताउनुभयो ।

असारे युवा क्लवका अध्यक्ष ओमबहादुर रोकाले परापुर्व कालदेखि असारमा बाली लगाएपछि मनोरञ्जनका लागि मेला लगाउने परम्परालाई खेलकुदसँग जोडेर निरन्तरता दिएको बताउनुभयो । असार २१ गतेदेखि शुरु भएको मेला अन्तरगत पुरुष, महिला भलिबल, तारोखेलका साथै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लवको उपाध्यक्ष नारायण घर्तिले बताउनुभयो ।

Leave a Reply