पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ।

बुधवार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो।

विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी बोकेको थियो।

अध्यक्ष तिमिल्सिनासहित सात सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए। सन् २०२३ को जनवरी १ मा उडान शुरु भएको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन भने सकेको थिएन।

यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर अहिले ११ बजे काठमाडौं हुँदै चीन फर्किनेछ।
 

Leave a Reply