म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घर-घरमा अध्यक्ष कार्यक्रम संचालन गरेको छ । दिर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दिर्घरोगीहरुलाई घरदैलोमै पुगेर औषधी उपचारको ब्यवस्था मिलाउने उदेश्य राखेर कार्यक्रम गरिएको बताए । ‘जनताको घरदैलोमा पुगेर सेवा दिन्छौ, दिर्घरोगीलाई भेट्न घरमै कोशेली लिएर पुग्छौ’ अध्यक्ष पुनले भने ।

कार्यक्रम मार्फत सबै वडा र बस्तीबाट नियमित औषधी सेवन गरिरहेका दिर्घरोगीहरुको विवरण संकलन गरिएको छ । नियमित औषधी सेवन गर्ने विवरण संकलन गरेर सात वटै वडामा घरभेट गर्ने कार्यक्रम अनुसार वडानम्वर १ गुर्जामा दिर्घरोगीहरुसंग भेटघाट गरिएको हो ।

यसअघि अन्य पाँचवटा वडामा कार्यक्रम गरिएको थियो । गुर्जामा ६ जना दिर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताइन्। वडानम्वर २ लुलाङमा कार्यक्रम गर्न बाँकी छ ।

सबै वडामा दिर्घरोगीले सेवन गर्ने औषधीको विवरण संकलन गरेर औषधी उपलब्ध गराउने योजना गाउँपालिकाको रहेको छ ।दिर्घरोगीसंग अध्यक्ष कार्यक्रम अन्तरग धवलागिरी गाउँपालिकामा चालू आर्थिक बर्षमा २० लाख बजेट विनियोजन गरेको छ । दीर्घरोगीको सेवामा जिल्लाका स्थानीय तहले प्राथमिकता राखेका छन् ।

Leave a Reply