बेनी नगरपालिका–४ सिंगामा सोमबार लघुउद्यमी र वित्तीय सेवा प्रदायक बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग अन्तरक्रिया गरिएको हो ।

लघुउद्यमीहरुको वित्तीय सेवामा पहुँच बढाउन कार्यक्रम आयोजना गरिएको बेनी नगरपालिकाको उद्यम विकास सहजकर्ता सिता अर्मजा पुनले बताउनुभयो । “सिप सिकेका उद्यमीहरुलाई व्यवसाय शुरु र गरिरहेको व्यवसाय विस्तारसँगै आम्दानीको व्यवस्थापनका लागि बित्तीय सेवाको आवश्यकता छ,” उहाँले भन्नुभयो “बित्तीय संस्थासँग सहज पहुँच बनाउन अन्तरक्रिया आयोजना गरिएको हो ।”

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाका प्रबन्धक नवराज ढुङ्गाना, नेपाल बैंक लिमिटेड बेनी शाखाका सूचना अधिकारी विकास आचार्य र सिंगाको शुभकामना कृषि सहकारी संस्थाका प्रबन्धक दिपक शर्माले कर्जा सुविधा पाउने प्रक्रीया र आम्दानीको व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो ।

“सिप र क्षमता अनुसारको ब्यवसायलाई सफल बनाउन लागि प्रक्रीया पुरा गरेर आउने उद्यमीलाई कर्जा उपलब्ध गराउछौ,” उहाँले भन्नुभयो “जुन उद्देश्यका लागि ऋण लिएको त्यही व्यवसायमा लगानी गरेका उद्यमी सफल भएका धेरै उदाहरण छन् ।”

एउटा उद्देश्यका लागि ऋण लिएर अन्तै लगानी गर्दा व्यवसाय असफल हुने बताउदै आम्दानीको केही हिस्सा बचत गर्ने अभ्यास गर्नुपर्ने ढुङ्गानाको भनाई थियो । उद्यमी मोमकुमारी बुढाथोकीले हातमा सिप र व्यवसाय गर्ने आँट भयो भने आत्मनिर्भर बन्न सकिने बताउनुभयो । व्यवसाय गर्न थालेपछि आत्मबल बढेको उहाँले बताउनुभयो । सकारात्मक सोच र भावनाको विकास गर्नुपर्ने बुढाथोकीको भनाई थियो ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का भगवानले वडाका तीन वटा टोलमा २५ जनाले सिपमुलक तालिम लिइरहेका बताउनुभयो । व्यवसायिक हिसाबले उत्पादन गर्ने उद्यमीलाई बजारीकरणमा नगरपालिकाले सघाउने र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सदुपयोग गर्न सुझाव दिनुभयो ।

लघु उद्यम विकास कार्यक्रममा बेनी नगरपालिकाको वडानम्वर ३, ४ र ५ बाट यसबर्ष ८३ जना आवद्ध भएका उद्यम विकास सहजकर्ता सरिता रेग्मी शर्माले बताउनुभयोे । यस कार्यक्रममा आवद्ध हुनेलाई झोला बुन्ने, ट्याक्टर मर्मत गर्ने, मौरीपालन, सिलाईकटाई, स्वीटर बुनाई र ब्युटीपार्लर सम्वन्धी सिपको तालिम दिएको बेनी नगरपालिकाले जनाएको छ । लघुउद्यममा आवद्ध भएर सिलाईकटाई दुई समुह, ब्युटीपार्लर र वाईरिङ कल्सलटेन्ट एक÷ एक समुह दर्ता भएको लघुउद्यम शाखाले जनाएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, गैसस महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, वडा सदस्य प्रेम श्रीस, नगरपालिकाको मेड्पा कार्यक्रमका फोकल पर्सन कुलचन्द्र रेग्मी लगायतको उपस्थिति थियो ।

 

Leave a Reply