म्याग्दीको पर्यटकीयस्थल टोड्केस्थित प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम धार्मिक पर्यटकका लागि आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । नजिकै देखिने धौलागिरी सहितका दर्जन हिमश्रृंखला, प्राकृतिक सुन्दरता पोखिएको टोड्केमा प्यूठान जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास छ ।

बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्केको स्वर्गद्वारी आश्रममा पछिल्लो समय पूर्वाधार समेत विस्तार गरिएको छ भने गौमाताको महत्वलाई मध्यनजर गरी गाईपालनलाई समेत प्राथमिकता दिइएको मन्दिरका पूजारी जनक सुबेदीले बताउनुभयो ।

‘स्वर्गद्धारी पुग्न नसक्ने भक्तजनले यहाँ दर्शन गरे हुन्छ,‘ यो ऋषि महर्षिले तपस्या गरेको स्थल हो’ पूजारी सुबेदीले भन्नुभयो । प्राचीनकालमा विभिन्न ऋषि महर्षिले तपस्या गरेको यस स्थानमा १९३५ सालमा त्रिशूली बाबाले तपस्या गरेर यहाँ शिव मन्दिर र धर्मशालालगायतका केही संरचना निर्माण गर्नुभएको र अहिले पूराना बाहेक नयाँ संरचना समेत थपिएको छ ।

विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मनुभएका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गर्नुभएको पूजारी सुबेदीको भनाई छ । त्यसपछि यस क्षेत्रलाई स्र्वद्वारी क्षेत्र भनिन थालिएको हो । स्वर्गद्वारी महाप्रभु पछि यहाँ अन्य धेरै ऋषि महात्माले तपस्या गरेका थिए । आश्रममा रहेको मन्दिरमा मुर्ती तथा स्वर्गद्वारी महाप्रभुले लगाउनुभएको खराउ (काठका चप्पल), शिवलिङ्ग, शिवजीको स्वेतशुभ्र मूर्ति, बसाहा लगायत छ । भक्तजनले समेत दर्शन गरेपछि यहाँ सहयोग गर्ने गरेका छन् ।

त्यस्तै प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर श्रीमद्भागवत् सप्ताहा पाठ गरेको तथा जन्मेको छैठौँ दिनदेखि आमाको स्तनपान नगर्नुभएका हंशानन्द गिरीले तपस्या गर्नुभएको र त्यसैबेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भनिन थालिएको अभिलेखमा उल्लेख छ ।

मन्दिरमा बिहान बेलुका गाईको दूधले अभिषेक गर्ने तथा गौमाताको महत्वका बारेमा भक्तजनलाई समेत जानकारी दिन अहिले गोठमा १२ वटा गाई पालिएको छ । करिब २० रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्रबाट विश्वकै पाँचौ अग्लो धौलागिरि हिमाल सहित ८ हजार मिटर अग्लो अन्नपूर्ण, लगायतका हिमाल, दुई दर्जन बढी गाउँ देख्न सकिन्छ ।

Leave a Reply