म्याग्दीको बेनी नगरपालिका २ फापरखेतका आइते दर्जीले दुवै आँखा देख्नुहुन्न । शारीरिक रुपमा समेत कमजोर जन्मदेखि नै दृष्टिबिहीन दर्जीको जिम्मेवारी भने थेगिनसक्नुको छ ।

कमाइखाने जग्गा जमिन नहुँदा आफूले गिट्टी गुट्ने र श्रीमतिले दैनिक ज्याला मजदुरी गरेर साँझ विहानको गर्जो टार्दै आउनुभएको छ । उहाँको दयनीय अवस्था देखेर देश विदेशमा रहेका केही व्यक्तिहरुको सहयोगबाट निर्माण गरिएको सानो घरमा बस्दै आउनुभएका दर्जीलाई अघिपछि त खासै नियास्रो लाग्दैन । तर,जब चाडवाड आउँछन् तब आफ्नो अवस्था र गरिबीलाई धिक्कार्न मन लाग्छ ।

अहिले हुनेखाने र शारिरिकरुपमा सबल व्यक्तिहरुलाई दशैंको रौनकले छोएको छ । देश विदेशमा रहेका परिवारका सदस्यहरु जमघट हुने,मीठामीठा परिकार खाएर रमाउने,आपसमा खुसी साट्ने गरिरहदा आइते दर्जी जस्तै अत्यन्त विपन्न परिवारलाई भने ‘साँझ खाए बिहान के खाउँ’ भन्ने चिन्ताले पिरोलिरहेको छ ।

बेनी नगरपालिका ५ पुलाचौरको पुरण्यका गणेश दर्जीको अवस्था पनि आइतेको भन्दा कम दयनीय छैन । शारिरिक रुपमा सबल भएपनि गणेश दर्जीलाई भाग्यले भने कहिल्यै साथ दिएन । आफ्नो बुबाको जग्गा जमिन अर्कैले रजिष्ट्रेशन पास गराएर हडपेपछि सुकुम्वासी बनेका ४२ वर्षिय गणेशले बाल्यकालदेखि अहिलेसम्म कहिल्यै पनि सुखको सास फेर्न सक्नुभएन ।

लोग्ने स्वास्नी,दुई छोरी र आमा गरी पाँच जना परिवारको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आउँदा जग्गा जमिन र नियमित आम्दानीको कुनै स्रोत नभएका गणेश सधैं के खाने र कसरी आङ छोप्ने भन्ने पिरलोले नै रन्थनिने गर्नुहुन्छ । यी दुईजना दर्जी बन्धुहरुको जस्तै अवस्था भएका धेरै व्यक्तिहरु हुनुहुन्छ । जसलाई न चाडवाडको रमाइलोले छुन्छ,न त दशैं तिहारजस्ता पर्व आउनु र नआउनुमा कुनै फरक नै पर्छ ।

वडादशैंमा हुनेहरुका लागि किनमेल सुरु भइसकेको छ । तर,फापरखेतका आइते र पुरण्यका गणेशजस्तै म्याग्दीका धेरै विपन्न परिवारका सदस्यलाई भने दशैंको कुनै माहोल लागेको छैन । छरछिमेकी दशैंको जोहो लागेका छन् । घरमा परिवार जम्मा भएका छन् । तर, गरिबहरुको घरमा दशैंको लागि केही सोचिएकै छैन ।

गरिब र विपन्न बर्गको उत्थानका लागि सरकारले दिने सहुलियत र सुविधाहरु पनि वास्तविक गरिब र विपन्न वर्गको पहुँचसम्म पुग्न सकेको देखिदैन । राजनीतिक रुपमा पहुँच भएका,टाँठाबाठा व्यक्तिहरुले नै गरिबको नाममा आएको सहुलियत र सुविधाहरु दुरुपयोग गर्ने गरेको बेनी नगरपालिका ५ पुरण्यका यामबहादुर दर्जीले बताउनुभयो ।

“हामीलाई त केही छैन,अलिअलि भएपनि खेतवारी छ,झुपडी नै भए पनि आफ्नै जग्गामा बसेका छौं,हातगोडा सबल छन्,परिश्रम गरेर खान्छौंं,चाडपर्व मनाउँछैं ” यामबहादुरले भन्नुभयो “तर,गणेश जस्ता निरिह,केही नभएका र बोल्न सक्ने ल्याकत पनि नभएका अति पीडित र विपन्नको नाउँमा आउने सुविधा र सहुलियत त सम्वन्धित व्यक्तिले पाए उनीहरुको अवस्था केही सुधार हुन्थ्यो होला नि ।”

त्यसैगरी ज्यामरुककोटकी ६९ वर्षिया गङ्गादेबी सार्कीका श्रीमान १० वर्षदेखि बेपत्ता हुनुहुन्छ । उहाँ अहिले सेउलीबजारको सुकुम्बासी जग्गामा बसोबास गर्दै आउनुभएको छ । उहाँको नाममा जग्गा जमिन केही छैन । ज्यामरुककोट फापर खेतकै पतिराम सार्की बेसाहारा हुनुहुन्छ । उहाँका न सन्तान छन् न सम्पत्ति नै । त्यस्तै ४० वर्षिया तुलसी सार्की एकल महिला हुनुहुन्छ । उहाँको पनि सम्पत्तिको नाउँमा तिलराख्ने ठाउँ समेत नभएको उहाँ बताउनुहुन्छ ।

त्यस्तै घरबार बिग्रेर माइतै बसी,अरुको घरमा निमेक गरेर दुईवटा बालबच्चा हुर्काइरहेकी फापरखेतकै ४५ वर्षिया बैरी सर्किनीको अवस्था पनि अत्यन्तै कहाली लाग्दो रहेको छ । यी सबै व्यक्तिहरुलाई दशैंको कुनै पनि रौनक र रमाइलो छैन । रातदिन गरिबीमा पिल्सनु र आधा पेट खाएर साँझ विहान घचेट्नु बाहेक अर्को उपलव्धी अहिलेसम्म जीवनमा प्राप्त नभएको उहाँहरुको भनाइरहेको छ।

“सबैको घरमा दशैं आएको छ, तर हाम्रो घरमा दशा लागेको छ” फोनमा कुरा गर्दै गणेशले भन्नुभयो “छोरीहरुले नयाँ कपडा र मीठो खानेकुरा चाहियो भन्छन्,आफूलाई साँझ विहानको गास जुटाउनै धौ धौ परेको छ,कहाँबाट ल्याउनु नयाँ कपडा र मीठो खानेकुरा ।”दशैं हुनेखाने र भए खाने वर्गको बीचमा ठूलो खाडल बनेको यहाँका वुद्धिजीविहरु बताउँछन् । हुनेखानेहरुले जति महङ्गो भए पनि रामै्रसंग दशैं मनाउँदा नहुनेहरुको मनमा खिन्नता उत्पन्न हुन्छ । यसले गर्दा कतिपय व्यक्तिहरु चोरी,बदमासी जस्ता अपराधजन्य कार्यहरुमा समेत लाग्ने गर्दछन् ।

Leave a Reply