म्याग्दीको बेनी नगरपालिका-३, भकिम्लीलाई जातीय छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार वडामा आयोजित कार्यक्रममा जातीय उत्पीडनको अन्त्यसँगै छुवाछुतमुक्त वडा घोषणा गरिएको हो । बि.स २०७४ सालदेखि सुरू भएको अभियानमा जातिय छुवाछुतमुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि वडा अध्यक्ष पदम पुनले औपचारीक कार्यक्रमका बिच भकिम्लीलाई घोषणा गर्नुभएको थियो ।

प्रमुख अतिथि पुनले सबै जातजाति बिचको एकता र सहकार्यले समृद्ध वडा बनाउन सहज हुने बताउनुभयो । ‘भकिम्लीलाई सबै जातजातिको सहकार्यबाट चलेको वडा बनाउनुपर्छ,‘यहाँको एकताले सबैतिर सकारात्मक सन्देश प्रवाह गर्छ’ अध्यक्ष पुनले भन्नुभयो ।

५ बर्षसम्म छुवाछुत बिरुद्धका अभियानमा गरिएका गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिदैै घोषणालाई ब्यवहारमा उर्तानुपर्ने अध्यक्ष पुनको भनाई थियो । सोही अवसरमा बेनी नगरकार्यपालिका सदस्य मनकुमारी विकले जातिय छुवाछुत कानून बमोजिम डण्डनिय भएतापनि अहिले पनि समुदायमा छुवाछुत भएको देख्नुपरेको बताउनुभयो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले घोषणाले जातिय छुवाछुतमुक्त अभियानमा लागेका अगुवाहरुलाई भकिम्लीसम्म आउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

बि.स २०७४ सालदेखि आन्तरिक दलितभित्रको छुवाछुत बिरुद्धको अभियान, घरदैलो अभियान, जिविकापार्जनको लागी विभिन्न आयआर्जन हुने योजना, सहभोज तथा टोलटोलमा प्रतिबद्धता, प्रभावकारी भाषणकला तालिम, वडाभित्रका सबै बस्तीमा पुगेर विभिन्न रचनात्मक कार्यहरू सञ्चालन लगायतका विभिन्न कार्यक्रमहरू गरिएको प्रगतिशिल दलित मञ्चका अध्यक्ष रामबहादुर किसानले बताउनुभयो ।

उहाँले भकिम्लीमा रहेको १ सय ५८ दलित घरधुरीमात्रै नभई सबै जातजाति बिचको सहकार्य हुने कार्यक्रमहरुलाई भविस्यमा पनि निरन्तरता दिने बताउनुभयो ।

घोषणा कार्यक्रममा अन्तरजाति विवाह गर्नेलाई सम्मान, अभियानलाई सफल पार्नका लागि विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा निकायहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । घोषणा कार्यक्रममा मञ्चकी सचिव उमा विकको स्वागत र सञ्चारकर्मी वादल शाहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply