म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको टोलीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्त गरेका विभिन्न क्याम्पसको अवलोकन भ्रमण गरेको छ ।

अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्तीका लागि आवश्यक प्रक्रिया समेत अगाडी बढाएको क्याम्पसले गाउँपालिका उपाध्यक्ष पेमाकुमारी अधिकारी,प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगाना, क्याम्पसका पूर्वअध्यक्ष चन्द्रप्रसाद बुढाथोकी, निर्वतमान अध्यक्ष श्रीराम पौडेल, आर्थिक पूर्वाधार समिति योसुदा रोका, राजनीतिक दलका प्रतिनिधि, सहायक प्राध्यापक लगायतको उपस्थिती रहेको थियो

टोलीले पोखराको पृथ्वीनारायण क्याम्पसमा, कन्या बहुमुखी क्याम्पस पोखरामा,जनप्रिय बहुमुखि क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको क्यूएए टिमसँग आवश्यक प्रक्रिया सहित विभिन्न विषयमा छलफल गरेको थियो । भ्रमणबाट क्यूएए प्रक्रियामा सहज भएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।

‘यहाँहरूबाट नियमित प्रक्रियाका बारेमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,‘हाम्रो टिमले नियमित सम्पर्क गर्ने गरी सम्बन्ध बनाएका छौ’ प्रमुख खत्रीले भन्नुभयो ।अवलोकन भ्रमणको क्रममा बहुमुखी क्याम्पसमा क्यूएए प्राप्तीपछिको शैक्षिक गुणस्तरका बारेमा समेत छलफल भएको सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।

क्यूएए प्राप्तीका लागि आवश्यक पर्ने बजेटमा गाउँपालिकाले समेत सहयोग गरेको छ । पश्चिम म्याग्दीको शैक्षिक धरोहरको रुपमा रहेको मंगला शिक्षा क्याम्पसले सुचना र प्राविको क्षेत्रमा अब्बल बनाउने गरी दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयबाट अनुमति लिन आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।

 

Leave a Reply