म्याग्दीको बेनी नगरपालिका-१,रत्नेचौरको सारेमारेका १० बर्षिय दिपक सार्कीको विचल्ली भएको छ । बुबा बिरबहादुरले आमालाई कुटपिट गरी हत्या गरेपछि दिपकले पेटभरी खान पाएका छैनन् । च्यातिएको पुरानो लुगा, आफन्तकोमा मागेर गुजारा चलाइरहेका दिपकले उचित हेरचाह र पढ्ने वातावरणको अभावले नियमित विद्यालय समेत जादैनन् । दिपकको खाने र बस्नेको ठेगान छैन ।

बि.स २०७७ भदौ १३ गते मध्यरातमा मदिरामा लठ्ठ बिरबहादुरले घरमा सुतिरहेकी ३६ बर्षिय आमा मायाँ बोहोरालाई मरणासन्न हुनेगरी कुटेर घर नजिकै खाल्टोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेपछि बेसहारा बनेका दिपकको नियमित विद्यालयमा जाने,राम्रो पढ्ने चाहनालाई आर्थिक अभाव बाधक बनेको छ।

रत्नेचौरको भानु माविमा कक्षा ४ मा अध्ययनरत दिपकलाई पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग गर्न सकेमा भविष्यमा राम्रो प्रगति गर्न सक्ने विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताए ।‘पढ्न वर्षभरि आवश्यक पर्ने साम्रगीकै अभाव छ,उनीबस्ने आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ,’ प्रअ खत्रीले भने ।

विद्यालयमा प्रवेश गरेको केहीदिन पछि प्रअ खत्रीले घरको अवस्था बुझ्दा दिपक भाबुक भएका थिए । ‘आमाको मृत्यु भयो, बुबा जेलमा हुनुहुन्छ’ दिपकको भनाई उद्धित गदैं प्रअ खत्रीले भने ।

उनले बुबाले आमालाई कुटपिट गरेको घटना बेलाबेला सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् गरेको बताए । दिपक विद्यालयका अनुशासित विद्यार्थी समेत हुन्। विद्यार्थीको अवस्थाका बारेमा जानकारी गराएपछि रत्नेचौरका विष्णु कार्कीले शैक्षिक पोशाकका लागि ३ हजार सहयोग गरेका छन् ।

अभिभावकविहीन भएका दिपककोे उचित लालनपालन र शैक्षिक गतिविधिलाई निरन्तरता दिने गरी सहयोग अभियान समेत सुरू गरिएको छ । सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेपनि जिल्लाका स्थानीय तहले सहयोगका लागि आवश्यक कोष ब्यवस्थापन र सक्रियता देखाउनेतर्फ चासो दिएका छैनन् ।

Leave a Reply