आउँदो वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेसँगै म्याग्दीमा नेकपा एमालेका उम्मेदवारको घरदैलो अभियान सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियान थालेका हुन् ।

यसैक्रममा आज बुधवार म्याग्दी सदरमुकाम बेनीबजारमा बेनी नगरपालिकाको प्रमुख, उपप्रमुख तथा बेनपा–७ र ८ नम्बर वडाको विभिन्न पदमा एमालेबाट उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले घरदैलो अभियान गरेका छन् । उनीहरुले घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्ष रुपमा भेटघाट गरेर आफू र नेकपा एमालेको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरेका हुन् ।

नगर प्रमुख पदका उम्मेदवार सुरत केसी, उपप्रमुख पदका उम्मेदवार पशुपति शाही, बेनपा–७ का वडाध्यक्षका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ, ८ नम्बर वडाका वडाध्यक्ष पदका उम्मेदवार उत्तमकुमार कर्माचार्य, सदस्यहरु पुष्पा थापा, लक्ष्मण कटुवाल, रमेश फगामी, गौरी किसान, यामबहादुर बानियाँ, भुलमाया तिलिजा, नरु थजाली र जानकी विश्वकर्माको टोलीले घरदैलो गरी भोट मागेको हो । उक्त टोलीले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन समेत आग्रह गरेको जनाएको छ ।

घरदैलो अभियानअन्तर्गत बुधवार बेनीको हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, बैंकरोड, बालमन्दिरचोक, वीरेन्द्रचोक हुँदै मङ्गलाघाट क्षेत्रमा पुगेर भोट माग्नुका साथै प्रचारप्रसार गरिएको नेकपा एमाले बेनी नगरपालिका–८, नम्बर वडा कमिटी अध्यक्ष ठाकुरप्रसाद शर्माले बताउनुभयो । घरदैलो अभियानका क्रममा मतदातासमक्ष आफू र पार्टीलाई भोट माग्दै बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरत केसीले बेनी नगरपालिकालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि आफू चुनाबी मैदानमा होमिएको बताउनुभयो ।

घरदैलो अभियान कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लिलाराम गौतमलगायत नेता तथा कार्यकर्ता सहभागी भएर बेनी नगरपालिकामा सुरत केसी नेतृत्वको एमालेको टिमलाई विजयी बनाउन मतदातालाई भोट दिन अपिल गर्नुभएको छ । नेकपा एमाले म्याग्दीको तर्फदेखि बेनी नगरपालिकाको प्रमुखमा पार्टी जिल्ला सचिव सुरत केसीलाई नगर प्रमुख र सचिवालय सदस्य पशुपति शाहीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा कुल १० वटा वडा रहेका छन् । आसन्न निर्वाचनका लागि २१ हजार ८ सय ४२ मतदाता रहेको बेनीमा १७ वटा मतदानस्थल र २८ वटा मतदान केन्द्र रहेका छन् ।

यसैगरी आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै म्याग्दीको अन्य पालिकामा पनि एमालेका उम्मेदवारहरुले प्रचारप्रसारसँगै आफू र पार्टीलाई भोट मागेका छन् । आसन्न निर्वाचनका लागि जिल्लाभर कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएकोमा ४१ हजार ४ सय १४ पुरुष, ४३ हजार ९ सय ६० महिला र अन्यतर्फ एकजना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा स्थानीय तहको निर्वाचनमा ६ सय १९ जना म्यादी प्रहरी छनोट गरिएको छ ।

 

Leave a Reply