म्याग्दीको सदरमुकाम बेनी मंगलाघाटमा अवस्थित लोकदीप आवासीय माविबाट २०६० सालमा एसएलसी परीक्षा उत्र्तीण गरी हाल देश विदेशमा रहेका पूर्व विद्यार्थीहरुले आफूलाई शिक्षा दिएका तत्कालिन शिक्षक धु्रवसागर शर्मालाई रु १ लाख ३९ हजार आर्थिक सहयोग गरेका छन् ।
शिक्षक शर्माकी माहिली छोरी स्व.विनिता शर्माको लामो समयसम्म भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा प्रशस्तै खर्च भए पछि शिक्षक शर्मालाई राहत पुगोस् भनेर २०६० सालका एसएलसी व्याचका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम लोकदीप आवासीय माविमा एक कार्यक्रमको आयोजना गरी शिक्षक शर्मालाई हस्तान्तरण गरिएको छ ।
लोकदीप आवासीय माविका संचालक÷प्रवन्ध निर्देशक कृष्णप्रसाद सुवेदी,संचालक नवराज पौडेल लगाएतले उक्त रकम शिक्षक शर्मालाई हस्तान्तरण गर्नुभएको हो । २०६० सालमा लोकदीप आवासीय माविबाट एसएलसी उत्र्तीण गर्नुभएका म्याग्दीका सक्रिय पत्रकार हरिकृष्ण गौतम र राजनीतिकर्मी विक्रम बोगटीको संयोजनमा संकलित उक्त रकम बुझ्दै म्याग्दीका सक्रिय पत्रकार समेत रहनुभएको शर्माले आफ्ना पूर्व विद्यार्थीहरुको भरपूर सहयोग हुँदाहुँदै पनि छोरीलाई बचाउन नसकेकोमा दुःख व्यक्त गर्दै उक्त सहयोग रकम मानवीय सेवाको क्षेत्रमा खर्च गर्ने बताउनुभयो ।
सहयोगदाता पूर्व विद्यार्थीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै शिक्षक शर्माले आफूले पढाएका विद्यार्थीहरुले आफूप्रति देखाएको माया र सदाशयता देखेर निकै खुसी लागेको बताउँदै पूर्व विद्यार्थीहरु अहिले आआफ्नो क्षेत्रमा सफलता प्राप्त गरेर सानदार जीवन विताएकोमा आफू गौरवान्वित भएको विचार व्यक्त गर्नुभयो ।
विद्यालयका पूर्व विद्यार्थीहरुले छोरीको उपचारका क्रममा पनि ६ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेका शर्माले बताउनुभयो । सोही अवसरमा पत्रकार हरिकृष्ण गौतम र विक्रम बोगटीले शिक्षक शर्माले आफूहरुलाई मार्ग निर्देश गरेकाले अहिलेको अवस्थामा आइपुगेको बताउँदै शिक्षक र विद्यालयप्रति आभारी छौं भन्नुभयो । कार्यक्रम विक्रम बोगटीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply